पोखरा । गुरुङहरुको साझा संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को तेह्रौं केन्द्रिय पार्षदसभाको तयारी पुरा भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यहि चैत १८ र १९ गते पोखरामा हुन गैरहेको तेह्रौं केन्द्रिय पार्षदसभाको तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो ।
पार्षदसभामा देशभरिका विभिन्न जिल्ला तथा प्रदेश समितिहरु, विशेष सदस्य संगठनहरु, आबद्ध तमू संघसंस्थाहरुबाट र संस्थाका संरक्षक परिषद, केन्द्रीय सल्लाहकारहरु, निर्देशन तथा अनुगमन समिति सदस्यहरु गरि करिब ६ सय जना प्रतिनिधिहरुको सहभागिता रहने तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्ण बहादुर गुरुङ बताए ।
पोखरामा दुई दिनसम्म चल्ने उक्त कार्यक्रमको पहिलो दिन चैत १८ गते चिप्लेढुंगाबाट विभिन्न झाँकी र्याली निकाली बजार परिक्रमा गरिने छ भने र्याली सिटी हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने अध्यक्ष गुरुङले जानकारी दिए।
“तमू (गुरुङ) भाषालाई सरकारी कामकाजको भाषा घोषणा हाम्रो आव्हान ! तमू भाषामा तमू थातथलोको नाम पुर्नस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान !” भन्ने मुल नारा संस्थाको रहेको छ ।
उक्त पार्षद सभाबाट तमू (गुरुङ) जातिको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक अधिकारका विषयमा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका संविधानले परिकल्पना गरेका राज्यको विकासका बारेमा संस्थागत धारणाहरु निर्माण गर्ने विषयमा महत्वपूर्ण नीतिहरु पारित गर्ने लक्ष्य रहेको छ ।