चितवन । यही चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा परिचालन योजना लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने १६ वटा क्याम्पसमा योजना लागू गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार योजनाअन्तर्गत ४०० प्रहरी परिचालन गरिने छ।
निर्वाचन हुने कलेजको सुरक्षा, मोबाइल गस्ती, आवश्यकताअनुसार परिचालन गर्न तयारी टोलीसहित योजना लागू गरिएको उनले बताए। निर्वाचन लक्षित गरी शङ्कास्पद वस्तु भेटिन थालेकाले योजनालाई थप प्रभावकारी बनाउन लागिएको उनले बताए। स्ववियु निर्वाचन कार्यातालिका अनुसार उम्मेदवारको नाम प्रकाशनपछि अहिले विद्यार्थी सङ्गठन प्रचारप्रसारमा लागि रहेका छन्।
प्रचारप्रसारको क्रममा हुन सक्ने सम्भावित घटनालाई अध्ययन र विश्लेषण गरेर योजना लागू गरिएको उनले बताए। निर्वाचनको विषयमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग समन्वय गरेर काम भइरहेको उनको भनाइ छ।