Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनमा पहिलो पटक तेस्रो लिङ्गी संगीता अधिकारीले नागरिकता पाईन

चितवनमा पहिलो पटक तेस्रो लिङ्गी संगीता अधिकारीले नागरिकता पाईन

images
चितवनमा पहिलो पटक तेस्रो लिङ्गी संगीता अधिकारीले नागरिकता पाईन
images

मनिका विश्वकर्मा, चितवन, १ माघ  । चितवनमा पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचानसहितको नागरिकता बनेको छ ।

तेस्रोलिङ्गी भरतपुर महानगरपालिका शरदपुरकी संगिता अधिकारीले आफ्नो पहिचानसहितको नागरिकता पाएकी हुन् । जिल्ला प्रशासन कार्यालय चितवनको अनुसार चितवनमा पहिलो पटक यसरी तेस्रोलिंगीलाई पहिचानसहितको नागरिकता उपलब्ध गराएको जनाएको छ ।
२०७३ साल माघ १० गते जारी गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले नाम र लिङ्ग सच्याएर नागरिकता लिन पाउने कानुन आएपछि संगिताले पनि आफ्नो पहिचान अनुसारको नागरिकता पाएकी हुन् ।

पहिचानसहितको नागरिकता पाउनको लागि संगिताले चार वर्ष प्रशासन कार्यालय धाउनुपर्‍यो  । परिवार र समाजको सनाखत हुँदा पनि उनलाई प्रशासनले भने पत्याइरहेको थिएन । नागरिकताकै लागि भनेर उनले धेरै संघर्ष गर्नुपरेको बताउँछिन् । उनले भनिन्, ‘नागरिकताको लागि चार वर्ष त धाएँ तर अन्तिममा म को हुँ भनेर प्रमाणित गर्नुपर्‍यो ।’ मलाई चिकित्सकलाई आफ्नो सारा शरीर देखाउनुपर्दा धेरै असहज महसुस भएको संगिताले नारायणी अनलाइनलाई बताइन् ।

पहिचानसहितको नागरिकता पाउनको लागि मेडिकल चिकित्सकबाट प्रमाणीकरण(मेडिकल प्रुफ) गर्नुपरेको उनले बताइन् । उनले ‘अन्य’ भनेर नागरिकता पाइन् तर त्यसको लागि धेरै संघर्ष गर्नुपरेको बताउँछिन् । उनले नागरिकताकै लागि वडा कार्यालयलाई धेरै व्यक्तिगत कुरा बुझाउनु परेको बताइन् । पहिलो कुरा त वडालाई तेस्रोलिङ्गी भनेको नै थाहा नभएको र पछि यसै सम्बन्धी दुई/तीन वटा कार्यक्रममा सहभागी गराएपछि मात्र वडा कार्यालयले सिफारिस बनाइ दिएको उनको अनुभव छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कानुनमा उल्लेख नभए पनि कुराहरु पनि आवश्यकता अनुसार नागरिकता दिनुपरेकोले त्यसरी चिकित्सकद्वारा प्रमाणित गर्नुपरेको जानकारी दिए । उनले भने, ‘ यसरी जसलाई पनि म तेस्रोलिङ्गी भन्दैमा नागरिकता दियो भने समाजमा समस्या पैदा हुन जान्छ ।’

यौनिक तथा अल्पसंख्यक समुदायकी संगिता अधिकारीले ठूलै संघर्षबाट आफ्नो पहिचान अनुसारको नागरिकता पाएकी छिन् । संगिताले नागरिकताकै लागि मेडिकल रिपोर्टसहित बुझाउनुपरेको छ । कानुन विपरित गएर जिल्ला प्रशासन कार्यालय चितवनले संगितालाई नागरिकताको लागि मेडिकल रिपोर्ट ल्याउन आदेश गरेको थियो ।

चितवनको भरतपुरमा नै संगिता बुबाआमासँगै बस्छिन् । उमेरले २२ वर्ष लागेकी संगिताले आफ्नो पहिचान अनुसारको नागरिकता पाउनको लागि चार वर्ष प्रशासन धाउनुपरेको थियो । उनले भनिन् ‘वडा कार्यालयमा म तेस्रो लिङ्गी भनेर नागरिकता बनाइ दिनुहोस् भन्दा भन्दा बल्ल तल्ल वडाले नागरिकताको लागि सिफारिस बनाइ दिएको थियो ।’  शरदपुरकी २२ वर्षीय संगिताको जन्मदर्तामा ‘छोरा’ उल्लेख छ । उमेर बढ्दै जाँदा उनमा छोरीका गुण देखा प¥यो । पछिमात्रै उनले आफू यौनिक अल्पसङ्ख्यक (तेस्रोलिङ्गी) भएको पत्तो पाइन् ।
अदालतले प्रष्ट व्याख्या गरेर पहिचान दिन आदेश गरेको लामो समय भइसके पनि नेपाली नागरिकता लिने उनको धोको पूरा हुन सकेको थिएन । यसका लागि जन्मदर्ता मुख्य बाधक बन्न पुगेको थियो । मेडिकल रिपोर्टले नै पुष्टि गर्नुपर्छ । त्यही रिपोर्ट बनाउन लाग्ने ठूलो धनराशीको जोहो गर्न नसक्दा पनि समय धेरै खर्चिनु परेको संगिता बताउँछिन् ।

लैङ्गिक पहिचानको लागि मेडिकल उपचारमा पाँच लाखसम्म रकम जुटाउन नसक्दा पहिचानसहितको नागरिकता नपाउँदा धेरै दुःख पाउनुपरेको संगिताले बताइन् ।पहिचान अनुसारको नागरिकता नपाएकाहरुको लागि आवाज उठाउने उनले भनिन् ‘मैले त पाए । अरुले किन नपाउने’

मानव सचेत समाज चितवनका कार्यक्रम संयोजक देव श्रेष्ठका अनुसार यसरी चिकित्सकबाट तेस्रोलिङ्गीं हो होइन भनेर प्रमाणित गर्नु नै गलत तरिका रहेको बताए । भावनात्मक रुपमा आफू महिला, पुरुष भन्दा फरक क्षमताको भएपछि पनि त्यसलाई प्रमाणित गर्नुपर्ने आवश्यक नरहेको श्रेष्ठ बताउँछन् । चितवनमा हाल ३०० बढी यस समुदायका व्यक्ति छन् । कसैको पनि पहिचानसहितको नागरिकता बन्न नसकेको श्रेष्ठले जानकारी दिए । कानुन भन्दा बाहिर गएर यसरी प्रमाणित गर्नुपरेको एकदम गलत रहेको उनको दाबी छ ।

त्यस्तै यसै समुदायकी मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १२ बस्ने सानु लामाले पनि पहिचानसहितको नागरिकता पाइन् । तर, उनले भने सहजै तरिकाले नागरिकता पाइन् । लामाले कुनै मेडिकल प्रुफ गर्न नपरेको निल हिरा समाज मकवानपुरको कार्यक्रम संयोजक किरण थापाले जानकारी दिए । वडाले नै सिफारिस बनाइ दिएपछि सहजै प्रशासनले पहिचानसहितको नागरिकता पाएको उनले बताए । उक्त काननु आएपछि मकवानपुरमा यस यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका तीन जनाले पहिचान सहितको नागरिकता पाएको छ ।

नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १८:४४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology