काठमाडौं । ग्राहक तथा लगानीकर्ताले कुनै एक निकायमा एकपटक व्यक्तिगत विवरण बुझाएपछि पुँजीबजारका अन्य निकायमा पुनः व्यत्तिगत विवरण बुझाउन नपर्ने गरि केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल डिजीटल केवाईसी) लागू गरिने भएको छ । पुँजी बजारमा विद्युतीय सेवा समेत प्रदान गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले केन्द्रीकृत डिजीटल केवाईसी लागू गर्ने तयारी अघि बढाएको हो, जुन अन्तिम चरणमा पुगिसकेको सीडीएससीले बताएको छ ।
हाल यसका लागि बनेको सफट्वेयर (सिस्टम) लाई केही ब्रोकर कम्पनी र मर्चेन्ट बैंकरहरुमा परिक्षण भइरहेको छ । त्यसको नतिजा पनि राम्रो देखिएको छ । अब बाँकी काम र प्रक्रिया पुरा गरेर केन्द्रीकृत डिजीटल केवाईसीलाई कार्यान्वयनमा ल्याउने सीडीएससीको तयारी छ ।
अहिले डिम्याट खाता, मेरो शेयर खाता, ब्रोकर खाता (टीएमएस) खोल्दा सम्बन्धीत ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर लागयतका निकायमा लगानीकर्ताले छुट्टा छुट्टै केवाईसी भर्नुपर्नेे बाध्यता छ । एउटै ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता खोल्दा पनि दुई पटक केवाईसी भर्नुपर्ने बाध्यता छ । साथै, एउटा मर्चेन्ट बैंक तथा ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता (टीएमएस) खोलेको व्यक्तिले अर्काे ब्रोकर तथा मर्चेन्ट बैंकरमा डिम्याट खाता पनि केवाईसी भर्नुपर्ने बाध्यता छ ।
त्यसमाथि कतिपय ब्रोकर तथा मर्चेन्ट बैंकरहरुले केवाईसी अझै डिजीटलाइज गरेका छैनन् । फलस्वरुप लगानीकर्ताले निकै झन्झट बेहोर्नुपरेको छ । साथै, खर्च पनि उत्तिकै मात्रामा भइरहेको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजी बजार भित्रको कुनै एक निकाय तथा संस्थामा केवाईसी भरेपछि अर्काे ठाउँमा पुनः केवाईसी भर्न नपर्ने गरि नयाँ प्रविधि ल्याउन लागिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले बताए ।
यो प्रविधि आएपछि लगानीकर्ताले एउटा निकायमा केवाईसी भरेपछि सोही निकाय वा अन्य निकायमा थप केवाईसी भर्न नपर्ने उनको भनाइ छ । यद्यपि, आवश्यकताअनुसार समय समय केवाईसीलाई अपडेट गर्दै जानुपर्ने उनले बताए ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)ले २०७७ मा एक निर्देशिका जारी गर्दै सीडीएसीलाई सेन्ट्रल डिजीटल केवाईसी लागू गर्न निर्देशन दिएको थियो । त्यसपछि सीडीएससीले सोही निर्देशिका अन्तरगत सेन्ट्रल डिजीटल केवाईसी लागू गर्ने प्रक्रिया अघि बढाएको हो । सम्भवत अबको १÷२ महीनामा यो कार्यान्वयनमा आउने सीडीएससीको भनाइ छ ।यदि, यो सफल भएमा पुँजी बजार केन्द्रीकृत डिजीटल केवाईसी कार्यान्वयनमा ल्याउने नेपालको पहिलो क्षेत्र पनि हुने छ ।
यस्तै, सीडीएससी यसको सफट्वेयरलाई स्वीकृतिको लागि सुचना प्रविधि बिभागमा समेत पेश गरिसकेको छ । सुरक्षा, साइवर सेक्युरीटी लगायतका प्रयोजनका लागि बिभागबाट यसको स्वीकृति लिन लागिएको हो । सम्भवत आगामी दुई हप्तामा बिभागबाट स्वीकृति आइसक्ने बताइएको छ ।
यस्तै, सेन्ट्रल डिजीटल केवाईसीका लागि शेवा शुल्क तोक्न नेपाल धितोपत्र बोर्ड, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, लगानीकर्ता लगायतका सरोकारवालाहरुसँग छलफल अगाडि बढाइएको छ । उक्त छलफलमार्फत शेवा शुल्कको टुंगो लगाउने काम भइरहेको सीडीएससीका प्रवक्ता सुरेस न्यौपानले बताए ।
‘अब सेन्ट्रल डिजीटल केवाईसी लागू गर्न यी दुई काम मात्रै बाँकी छ । यो पुरा भएपछि सेन्ट्रल डिजीटल केवाईसी कार्यान्वयनमा आउछ,’ प्रवक्ता न्यौपानले बताए ।