चितवन । आदिवासी जनजाति पत्रकारहृको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले नेपाल पत्रकार महासंघको समावेशी कोटामा फोनिजको सिफारिस भएका व्यक्तिलाई सर्वसम्मत कार्यसमितिमा राख्न माग गरेको छ। शुक्रबार र शनिबार इच्छाकामना गाउँपालिका वडा नं.७ स्याङ्दीमा सम्पन्न नवौँ सधारण सभाको बन्द सत्रमा भएको छलफलबाट उक्त निर्णय गरेको हो।
यसअघिसम्म फोनिजसम्बध सदस्यहरूले पत्रकार महासंघको समावेशी कोटामा पनि आदिवासी जनजाति पत्रकारहरूका बीचमा चुनाव लड्नुपर्ने बाध्यता भएको हुँदा त्यसलाई रोक्न फोनिजले निर्णय गरेर पठाएको उम्मेदवारलाई सर्वसम्मत गराउन महासंघसँग पहल गरिने फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए।
‘पत्रकार महासंघको हरेक अधिवेशनमा फोनिजले पाउँदै आएको कोटामा पनि विभिन्न संगठनको नाममा चुनाव लड्नुपर्ने विषय राम्रो भएन,’ उनले भने, ‘त्यसलाई रोक्नको लागि पत्रकार महासंघले पनि भूमिका खेल्नुपर्ने देखिन्छ ।’ त्यसैले अबको अधिवेशनमा फोनिजले निर्णय गरेर पठाएकै व्यक्तिलाई आधिकारिक मानेर सर्वसम्मत गराउने प्रयास गरिने उनले बताए।
यसका लागि पत्रकार सम्वद्ध विभिन्न संगठनसँगसमेत छलफल गर्ने र पत्रकार महासंघ चितवनलाई आधिकारिकरूपमा पत्रव्यवहार गर्ने उनको भनाइ छ।
त्यसका साथै पत्रकार महासंघसँग उपाध्यक्ष पदमा पनि आदिवासी जनजाति पत्रकार महासंघको उपस्थिति गराउन माग गर्ने निर्णय भएको उनले बताए। साधारण सभाको बन्दसत्रमा राप्ती नगरपालिकामा हुन लागेको फोनिजको प्रादेशिक भेलामा चितवन जिल्लाको सहभागीता र मधेश प्रदेशमा हुन लागेको संघीय समितिको विधान संशोधनमा दिनुपर्ने सुझावसमेत संकलन गरिएको अध्यक्ष मगरले जानकारी दिए।

दुई पत्रकारलाई सम्मान
सोही अवसरमा फोनिज चितवनले चितवनका दुई क्रियाशील पत्रकारलाई सम्मान गरेको छ। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङको हातबाट नारायणी अनलाइन डटकम तथा सञ्चारपत्र दैनिकका प्रधानसम्पादक एवम् कान्तिपुर दैनिकका चितवन संवाददाता राजु चौधरी र कायाकैरन दैनिकका प्रधानसम्पादक सूर्यप्रकाश कँडेललाई सम्मान गरिएको हो।
पत्रकार चौधरी फोनिज चितवनका संस्थापक सचिव हुन् भने करिब १५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन्। अर्का पत्रकार कँडेल भने विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेको र आदिवासी जनजातिका मूल मुद्धालाई बाहिर ल्याउन सहयोग पुर्याएको भन्दै सम्मान गरिएको हो।
फोनिज चितवनले नवौँ साधारण सभाको अवसर पारेर 'फोनिज बुलेटिन'समेत विमोचन गरेको थियो। इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ,इच्छाकामना-७ का अध्यक्ष बमबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका चितवनका अध्यक्ष महेन्द्र दुरालगायतको उपस्थितिमा बुलेटिन विमोचन गरिएको हो।
