गोरखा, १८ असोज । भुकम्पको पाँच वर्ष बितिसक्दा पनि गोरखाको गण्डकी गाउँपालिका र शहिद लखन गाउँपाकिलाकाका ९ सय १२ जना लाभग्राहीले अनुदान सम्झौता नै गरेका छैनन्। लभाग्राहीको सूचिमा परे पनि उनीहरुले अहिलेसम्म अनुदान सम्झौता नगरेका हुन्। भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाका दुई हजार ७९ जना लाभग्राहीले अहिलेसम्म अनुदान सम्झौता नै गरेका छैनन्। निजी अबास पुन निर्माण गर्न लाभग्राहीले प्रति घर तीन लाख रुपैयाँ अनुदान दिएको रकम लिन बाँकी तीन प्रतिशत लाभग्राही छन्।
‘पहिचान भएका ६६ हजार नौ सय सात जना लाभग्राही मध्ये ६४ हजार आठ सय २८ घरधनीले माात्रै सम्झौता गरेका छन्’ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का प्रमुख रामशरण आचार्यले भने ।
सम्झौता गर्न बाँकी लाभग्राही मध्ये सबैभन्दा धेरै पालुङटार नगरपालिकामा रहेका छन् । त्यहाँ लाभग्राही कायम भएका मध्ये आठ सय २४ जनाले अनुदान सम्झौता गरेका छैनन् । गण्डकी गाउँपालिकामा छ सय नौ जना, गोरखा नगरपालिकामा पाँच सय ३१ जना, सिरानचोक गाउँपालिकामा तीन सय ४३ जनाको सम्झौता हुन बाँकी छ ।
स्थानीय तहले पटक पटक अनुदान सम्झौता गर्न अनुरोध गर्दा लाभग्राहीले नै चासो नदिएको बताउँछन् । चुमनुब्री गाउँपालिकामा तीन सय चार, शहिदलखन गाउँपालिकामा तीन सय तीन, बारपाक सुलिकोट गाउँपालिकामा दुई सय १०, धार्चे गाउँपालिकामा एक सय ५१, आरुघाट गाउँपालिकामा एक सय ८९, अजिरकोट गाउँपालिकामा एक सय २२, भिमसेन थापा गाउँपालिकामा एक सय छ लाभग्राहीले अनुदान सम्झौता गरेका छैनन् ।
कतिपय लाभग्राहीको भने जग्गाको समस्या, भुमिहिन सुकुम्बासी हुँदा समस्या परेको छ ।
गोरखामा अहिले सम्म ६७ हजार आठ सय १० जनाले पहिलो किस्ता, ६० हजार सात सय ८३ जनाले दोस्रो र ५७ हजार ८३ जनाले तेस्रो किस्ताको रकम लिईसकेका छन् ।