काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएर खान नमिल्ने बाह्रसिंगे बियरको गोदाम सिल गरेको छ।
मंगलबार विभागबाट खटिएको बजार अनुगमनको एक टोलीले काठमाडौंको धुम्बाराहीमा रहेको बाह्रसिंगेको बिक्रेता क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदाम सिल गरेको हो।
बजारमा पठाउन लागिएको सो डिलरको तीन वटा गोदाममा राखिएका २१ सय कार्टुन बाह्रसिंगे बियर म्याद गुज्रिएको फेला परेको विभागका प्रवक्ता होमनाथ भट्टराईले जानकारी दिए ।
िम्याद गुज्रिएको बियरको मूल्य ६० लाखभन्दा बढी रहेको विभागले जनाएको छ। म्याद सकिएको बियर कम्पनीमा फिर्ता गरेर नष्ट गर्नुपर्नेमा भण्डार गरिएर राखिएको पाइएकाले आवश्यक कारबाहीका लागि गोदाम सिल गरिएको भट्टराईले बताए। यस्ता बियर विवाहलगायत विभिन्न पार्टीमा पठाउने गरेको सूचनाको आधारमा छापा मारिएको विभागले जनाएको छ ।
त्यस्तै विभागले गुणस्तरहिन वस्तुको बिक्री वितरण तथा उपभोगतर्फ विशेष चनाखो रहन आग्रह गर्दै बिक्री वितरण गरिएको थाहा पाए विभागको टोल फ्रि नम्बर ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टल मा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ।
