– प्रेम क्षेत्री
नवलपुर । गैँडाकोटमा दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर ६ विकेटले विजयी भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले १२७ रनको लक्ष्य दिएको थियो। पर्वतले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन बनाएको थियो। जवाफि ब्याटिङ गरेको नवलपुरले १६.२ ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनाउँदै विजयी भएको हो।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले यो प्रतियोगिता गैँडाकोटको पहिचानका रुपमा रहेको बताए। खेलसँगै नवजागरण खेलमैदानको स्तारोन्नती गर्नेसमेत मेयर अधिकारीले बताए।
प्रतियोगिताका संयोजक एवं आयोजक संस्थाका उपाध्यक्ष विष्णुप्रसाद कंडेल, प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका गैँडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटा, गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटा, मुख्य प्रायोजक इनाक्षी इन्टरटेन्मेन्ट प्रा.लि. एण्ड सापकोटा ट्रान्सपोर्ट अष्ट्रेलियाका प्रबन्धक दीपक सापकोटालगायतले शुभकामना व्यक्त गरेका थिए।

नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा सुरु भएको प्रतियोगिता फागुन १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र एवं उप विजेतालाई १ लाख ५० हजार रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, ईमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई ५/५ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै म्यान अफ द म्याचलाई १५ सय, कप तथा मेडल प्रदान गरिने छ। ‘स्वास्थ्य एकता र समुन्नतीका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन गरी ८ टिमको सहभागिता छ।