Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अपहरणमा परेका व्यक्ति नै मोटरसाइकल चढेर फिरौती लिन आएपछि.....

अपहरणमा परेका व्यक्ति नै मोटरसाइकल चढेर फिरौती लिन आएपछि.....

images

इच्छाकामना न्युज

२६, माघ २०७९
अपहरणमा परेका व्यक्ति नै मोटरसाइकल चढेर फिरौती लिन आएपछि.....
images

काठमाडौं । अपहरणको नाटक गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ६ जनालाई पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए। चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्द्रागिरि १३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही घर भई बालाजु बस्‍ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान, ५३ वर्षीय कान्छामान जिम्बा र धादिङ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा छन्।

एसपी राठौरका अनुसार जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामा अपहरणमा परेको खबर थियो। उनीहरू तीनै जनाले आआफ्नो परिवारलाई फोन गरी अपहरणमा परेको जानकारी दिएका थिए। आफूहरू अपहरणमा परेको र साढे तीन लाख नबुझाइकन फुत्किन सम्भव नभएको बताएका थिए।

पैसा लिएर कलंकीमा आउन भनिएको थियो। यसरी अपहरणमा परेको खबर पाएपछि परिवारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जानकारी गराएका थिए। ‘पैसा नदिइ फुत्किन सम्भव भएन तुरून्त कलंकीमा पैसा लिएर आउनू भनेर उनीहरूले आफ्नो परिवारलाई खबर गरे। परिवारले हामीलाई जानकारी दिएपछि टोली खटिएको थियो,’ एसपी राठौरले भने।

जगतबहादुरकी श्रीमती र कान्छामानका ज्वाइँ पैसा पुर्‍याउन भनेर प्रहरीसँग कलंकीमा पुगेका थिए। प्रहरीले अपहरणकारी आउला भनेर कुरेर बसेको थियो। तर त्यहाँ अपहरण गर्ने व्यक्तिहरू आएनन्। बरू अपहरणमा परेको भनिएका जगतबहादुर नै मोटरसाइकलमा चढेर आइपुगेका थिए।

अपहरणमा परेकै व्यक्ति पैसा लिन आएपछि उनीमाथि थप सोधपुछ गरी अनुसन्धान अघि बढाएको एसपी राठौरले बताए। उनीमाथि सोधपुछ गरी प्रहरी फेरि रिसोर्टमा पुगेको थियो। रिसोर्टमा पुग्दा अपहरणमा परेको भनिएका कान्छामान र आशमानसहित अन्य व्यक्तिहरू रक्सी खाएर बसेका थिए। उनीहरूले नाटक थाहा पाएपछि सबैलाई पक्राउ गरेको एसपी राठौरले बताए।

उनका अनुसार अपहरणमा परेको भनिएका व्यक्तिहरूले बिदुरबाट केही समयअघि घर जग्गाको कारोबार गर्न १० लाख रुपैयाँ लिएका थिए। तर लामो समय बित्दा पनि उनीहरूले उक्त पैसा फिर्ता गर्न सकेनन्। फिर्ता नगरेपछि उनीहरूले नाटक गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

अहिले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले अभद्र व्यवहारमा म्‍याद थप गरेको छ। थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

images
प्रकाशित मिति :माघ २६, २०७९ बिहिवार - ०९:३९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology