नारायणगढ । चितवनका किसानले नारायणगढको पुलचोकमा तरकारी फालेर सरकारको विरोध गरेका छन्। भारतीय तरकारी ल्याएर नेपाली तरकारीले बजार नपाएको भन्दै बजारको सुनिश्चितताका लागि सरकारलाई दबाब दिन तरकारी किसानहरूले सडकमै तरकारी फालेका हुन्।

तीनै तहको सरकारले किसानको विषयमा ध्यान नदिए नेपालका सबै किसान पलायन हुने र त्यसको असर समग्र देशवासीमा पर्ने भन्दै तत्काल सरकारले नीति नियम बनाएर नेपालमै उत्पादन हुने कुनै पनि वस्तु भारतबाट ल्याउन नहुने किसानहरूको माग छ।
सडकमै तरकारी फाल्दा पनि सरकारले किसानको लागि केही नसोचे त्यसको जवाफ सरकारले नै दिनुपर्ने आन्दोलनरत संघर्ष समितिका संयोजक लेखनाथ भूसालले चेतावनी दिए। 