नुवाकोट, २८ पौष ।
नुवाकोटका विभिन्न चार ठाउँमा यसवर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाइ मेला हुने भएको छ ।
नुवाकोटमा गोरु जुधाउने चर्चित ठाउँ तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु, विदुर नगरपालिका–१० बेत्रावतीमा चार हल, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल र शिवपुरी गाउँपालिका–५, शेराबगरमा चार हल गरि जम्मा ३१ हल गोरु जुधाइने भएको हो।
विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
तारुकाका विभिन्न ठाउँमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए ।
विजेता तथा सहभागी गोरुका धनीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।