चितवन, २६ पौष ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आज(आइतबार) बाट चरा गणना थालिने भएको छ। नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने चरा गणनाको नेतृत्व गरेको बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारीले जानकारी दिनुभयो। चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ।
कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ ।
बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उहाँले जानकारी दिनुभयो । बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ ।
यस वर्ष पहिलोपटक विस्तृत रुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ । गणनामा पचास जनाभन्दा धेरै गणक सहभागी हुने र छ दिनभित्र गणना सम्पन्न गर्ने तयारी भैरहेको बिडारीले बताउनुभयो ।
गणना कार्यमा क्यामेरा, वाइनोकुलर र टेलिस्कोप लगायतका उपकरण प्रयोग गरिन्छ। नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ। फोटो ग्राफरको पनि गणनामा सहभागिता हुनेछ। चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ।