चितवन । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा चितवन महोत्सवको १४औँ संस्करण सुरु भएको छ। महोत्सवको सोमबार बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरे। महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले व्यवसायीको आर्थिक उन्नतिमा चितवन महोत्सव कोशेढुंगा सावित हुने बताए। कोरोना र बैंकको व्याजदरका कारण सिथिल बनेको जिल्लाको अर्थतन्त्रलाई महोत्सवले चलायमान बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।
प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लामा व्यवसाय दर्ताको काम अनलाइनबाट गर्ने प्रविधिको विकास गरेको भन्दै मन्त्री श्रेष्ठले घरमै बसेर व्यवसाय दर्ता तर्दा बन्द गर्न सकिने बताए। पछिल्लो समय नेपालको हस्तकला व्यवसायले विदेशमा राम्रो व्यापार गर्न सफल भएको भन्दै उनले यस व्यवसायबाट आठ लाख बढीले रोजगारी पाएका बताए। हस्तकला व्यवसायले बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढीको सामान निर्यात गर्ने गरेको भन्दै उनले साना, मझौला र हस्तकलाको व्यवसायबाट नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेको बताए।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सवले मद्दत पुर्याउने बताइन्। चितवनको कृषिमा धेरै सम्भावना रहेको उल्लेख गर्दै प्रमुख दाहालले कृषिको सम्भावनालाई मूर्तरुप दिन महोत्सव फलदायी हुने विश्वास व्यक्त गरिन्। चितवनमा स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटनको राम्रो सम्भावना रहेको भन्दै नारायणी नदी तटबन्धसहित यहाँ पर्यटकीय गतिविधि सञ्चालनका लागि महानगरपालिकाले विशेष ध्यान दिएको उनले बताइन्।
महोत्सव उद्घाटन सत्रमा मन्तव्य राख्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले शिक्षा र स्वास्थ्यमाथि निरन्तर प्रहार भइरहेको बताए। राज्यले लगानी गर्ने वातावरण सुरक्षित गरिदिएमा मात्रै नेपालले आर्थिक विकास हासिल गर्न सक्ने उनले बताए। बैंकको व्याजदर वृद्धिले व्यवसायीहरु सबैभन्दा बढी समस्यामा परेका भन्दै श्रेष्ठले एकल व्याजदर काम गर्न राज्यले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
चितवन महोत्सव मूल समारोह समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनमा विगतमा भएका महोत्सवहरुले कृषि तथा पशुपालन क्षेत्रको प्रवर्द्धनमा उल्लेख्य भूमिका खेलेको बताए। महोत्सवले पर्यटनका साथै कृषिमा मौरी, मह र तोरीको प्रवद्र्धन र विकासमा जोड दिएको उनले बताए। कोभिड–१९ र त्यसपछि सिर्जित समस्याबाट क्षतविच्छेद भएको अर्थतन्त्रलाई पुनर्स्थापित गर्न यस्ता मेला महोत्सव अर्थपूर्ण रहने उनको भनाइ छ।
यस महोत्सव पर्यटनलाई केन्द्रमा राखेर आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले महोत्सव अवधिभर आयोजना गरिने पर्यटनसँग सम्बन्धित गोष्ठी तथा सेमिनार र विभिन्न पर्यटकीय गतिविधिले चितवनको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने बताए। चितवनलाई पर्यटकीय दृष्टिकोणबाट देशको तेस्रो गन्तव्यकोरुपमा लिइने गरिएकाले दोस्रो बनाउनका लागि वन्यजन्तुमा आधारित पर्यटनका साथै सांस्कृतिक सम्पदा, पर्यापर्यटन, ऐतिहासिक सम्पदा एवं धर्मिक सम्पदामा आधारित पर्यटनको विकास गर्नुपर्ने संघका अध्यक्ष श्रेषठले बताए। विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र सूचना प्रविधिका छुट्टैछुट्टै परिसर छन्।
महोत्सवअन्तर्गत पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ। उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष एवं प्रदर्शक व्यवस्थापन समिति संयोजक सुमनकुमार श्रेष्ठका अनुसार ४५० वटा स्टल रहेको महोत्सवमा सहभागी सबै स्टलको बीमा गरिएको छ। महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँ टिकट शुल्कको व्यवस्था गरिएको छ।
दश दिनसम्म चल्ने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ।