चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘भरतपुरमा लगानी सम्मेलन’को तयारी थालिएको बताएकी छन्। मंगलबार होटल व्यवसायी महासंघको १०औँ साधारण सभा तथा चौथो महाधिवेशनको उद्घाटन गर्दै मेयर दाहालले यही वर्षभित्र लगानी सम्मेलन गर्ने गरी महानगरपालिका अगाडि बढेको बताएकी हुन्।
मेयर दाहालले लगानी सम्मेलनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई भरतपुरमा बोलाएर यहाँको विभिन्न क्षेत्रमा गर्न सकिने लगानीबारे सम्भावना प्रस्तुत गरिने उल्लेख गरिन्। लगानी सम्मेलनपछि भरतपुरको पर्यटकीय क्षेत्रमा लगानी गर्ने वातावरण उच्च रहेको उनको भनाइ थियो।
भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको भन्दै मेयर दाहालले २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन तथा अन्य सबै पर्यटनको अवलोकन गर्न निमन्त्रणा गरिने बताइन्।