चितवन । इच्छाकामनामा चितवन जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशिको बुद्धिचाल प्रतियोगीता सुरु भएको छ। इच्छाकामना युथ स्पोर्टस् क्लब मुग्लिनले आयोजना गरेको जिल्लास्तरीय दोश्रो इच्छाकामना खुला बुद्धिचाल प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समिति चितवनका सभापति नारायणप्रसाद अधिकारीले उद्घाटन गरे।
इच्छाकामना गाउँपालिकाको वडा नम्बर ५ को कार्यालय मुग्लिनको सभाहलमा भएको प्रतियोगितामा ३७ खेलाडी सहभागी छन्। क्लबका अध्यक्ष प्रकाश त्रिपाठीका अनुसार प्रतियोगितामा ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका खेलाडी सहभागी छन्। सहभागी खेलाडीमध्ये मुग्लिनका अथक त्रिपाठी सबैभन्दा कान्छो प्रतियोगी हुन्।
प्रतियोगितामा सीमान्तकृत चेपाङ समुदायबाट पनि दुई जनाले सभागीता जनाएका छन्। स्वीस लिगअन्तर्गत चलिरहेको यो प्रतियोगितामा पहिलो दिन शुक्रबार ३ राउण्ड खेल सम्पन्न भएको छ। शनिबार ३ राउण्डको खेल हुने क्लबका अध्यक्ष त्रिपाठीले बताए।
बाँकी खेल इच्छाकामना ४ कुरिनटार स्थित लोकप्रिय होटलमा हुने छ। खेल बिहान ९ बजेदेखि सुरु हुने छ। प्रतियोगिताको पहिलो पुरस्कार १३ हजार, दोस्रो ९ हजार, तेस्रो ५ हजार, चौथो–पाँचौँ र छैठौँ हुनेले नगद दुई/दुई हजार रुपैयाँ जित्ने छन्।
यो राशि जिल्लामा हालसम्म भएका बुद्धिचाल प्रतियोगिताको सबैभन्दा ठूलो हो। यस्तै पहिलो हुने महिला खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिने छ। पहिलो हुने छात्रा र छात्र विद्यार्थीलाई पनि नगद दुई/दुई हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष त्रिपाठीले जानकारी दिए।