काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ। काठमाडौँमा बिहीबार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो। भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पार्टीको प्रदेश अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारीसमेत तोकिएको छ।
नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका साह गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित भएका थिए। आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताए।