Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राज्यको नीतिले अर्थतन्त्र डामाडोल : निजी क्षेत्र

राज्यको नीतिले अर्थतन्त्र डामाडोल : निजी क्षेत्र

images

इच्छाकामना न्युज

२७, मंसिर २०७९
राज्यको नीतिले अर्थतन्त्र डामाडोल : निजी क्षेत्र
images

नारायणगढ । उद्योगी तथा व्यवसायीहरूले देशमा अर्थतन्त्र डामाडोल भएको बताएका छन् । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५६औँ वार्षिक साधारणसभाका क्रममा उद्योगी, व्यवसायीले राज्य संयन्त्रले निजी क्षेत्रलाई संरक्षण गर्न नसक्दा देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका हुन् । देशको अर्थतन्त्र खस्किँदा निजी क्षेत्रमा लगानी गर्न चाहनेहरू पनि डराउनुपर्ने अवस्थामाआइपुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । उनका अनुसार विशेष गरी साना तथा मझौला उद्योगी व्यवसायी सबैभन्दा मर्कामा परेका छन् । 

‘सरकारले राष्ट्र बैंकलाई गरेको जस्तो संरक्षण निजी क्षेत्रलाई पनि गरिदिएको भए देशको अर्थतन्त्र यति कमजोर हुने थिएन,’उनले भने, ‘तर, बैंक र बैंकर्सलाई मात्रै संरक्षण गर्दा देशको उत्पादनमा गिरावट आएको छ । यसले गर्दा अर्थतन्त्र डामाडोल भयो ।’ निजी क्षेत्रलाई लगानी गर्ने वातावरण नबनाएसम्म देशको अर्थतन्त्रमा सुधार नहुने उनले बताए । ‘अहिले लगानीकर्ताको निद हराम भएको छ,’ उनले भने, ‘राज्यकै संरक्षण नपाएपछि निजी क्षेत्रका लगानीकर्ता सुरक्षित हुने कुरै भएन ।’ 

महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाईले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरेर देशभित्रै रोजगारी सिर्जना गर्न नसकेसम्म देशको अर्थतन्त्र माथि उकासिन नसक्ने दाबी गरे । ‘युवा जति सबै विदेश पलायन हुने, नेपालमा लगानी गर्दा लगानीकर्ता पनि डुब्ने भएपछि अर्थतन्त्र कमजोर नहुने कुरै भएन,’उनले भने, ‘त्यसैले देशको अर्थतन्त्र बलियो बनाउनको लागि स्वदेशभित्रै रोजगारी सिर्जना गर्न राज्यले ध्यान दिनुपर्छ, त्यसको लागि निजी क्षेत्रलाई पनि राज्यले संरक्षण गर्नुपर्छ ।’ 

महासंघका कार्यकारिणी सदस्य एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्र माथि लगाइएको चर्को ब्याजका कारण निजी क्षेत्रमा लगानी गर्नेहरू हात धोएर बस्नुपर्ने अवस्था आएको बताए । केही दिनअघि वीरगञ्जमा भएको घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै पूर्वअध्यक्ष प्रधानले भने, ‘बैंकले लागू गरेको चर्को ब्याजदरकै कारण आज उद्योगी, व्यवसायी आत्महत्यासम्मको बाटो रोज्न बाध्य भएका छन् । यस्तो कुरा राज्यले बुझिदिनुपर्छ ।’ 

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले निजी क्षेत्रको लागि सरकारले गम्भीर भएर नसोचेसम्म देश विकासले फड्को मार्न नसक्ने दाबी गरे । ‘राज्यले देश विकासमा निजी क्षेत्रको भूमिका सबैभन्दा बलियो छ भन्ने कुरा बिर्सन हुँदैन,’उनले भने, ‘किनकि निजी क्षेत्र नै हरेक विकास निर्माणमा राज्यको सहयात्री हो ।’ अहिले राज्यले ध्यान नदिँदा देशमा सञ्चालित करिब ४० देखि ४५ प्रतिशत उद्योग धन्दा बन्द भइसकेका उनले बताए । 

राष्ट्र बैंकले निजी क्षेत्रलाई चर्को ब्याज लगाएर व्यवसायबाटै पलायन हुने अवस्थाको सिर्जना गरेको भन्दै देशभरका उद्योगी, व्यवसायी केही समययता आन्दोलित छन् । यही क्रममा सोमबार भएको उद्योग वाणिज्य संघ चितवनको साधारणसभामा अध्यक्ष चुन नारायण श्रेष्ठले पुनः सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्र बैंकद्वारा लागू गरिएको चालू पुँजी मार्ग दर्शन–२०७९ को व्यवस्थाले देशभरका उद्योगी, व्यवासायी माथि प्रतिकूल असर परेको भन्दै त्यसलाई कम्तिमा पनि दुई वर्ष लागू गर्न नहुने बताए । 
‘राज्यकै कारण निजी क्षेत्रमा जटिलता थपिएको छ,’ उनले भने, ‘यसले निजी क्षेत्रलाई त घाटा छ नै, राज्य स्वयंलाई समेत क्षति भइरहेको कुरा बिर्सन हुँदैन ।’ सरकारी राजस्वले मुलकको साधारण खर्च समेत धान्न नसक्ने गरी मुलुकको अर्थतन्त्र संकट उन्मुख हुँदै गएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । 

कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले निजी क्षेत्रको विकासका लागि तीनै तहको सरकारले सकारात्मक प्रयास थाल्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई कमजोर पार्ने काम तीनै तहको सरकारबाट भएको छ । यस प्रति तीनै तहको सरकार सँच्चिएर जानुपर्छ,’ उनले भने । देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि केही गर्न नसके पनि विदेशबाट आउने कच्चापदार्थको आयात कम गर्न स्वदेशमै कच्चा पदार्थको उत्पादन बढाउन सकिने उनको भनाइ छ । 

भरतपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले भने निजी क्षेत्रको हितकै लागि करको दर भन्दा पनि दायरा फारकिलो बनाएर काम गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । ‘हामीले महानगरबाट करको दायरा फराकिलो बनाउँदै लगेका छौँ,’ उनले भने, ‘करको दायरामा नआएका उद्योगी व्यवसायीलाई पनि समेट्ने प्रयास चलिरहेको छ ।’ वि.सं.२०१६ सालमा स्थापना भएको उद्योग वाणिज्य संघमा हाल तीन हजार ७४१ सदस्य आवद्ध छन् । 

फेन्सी व्यवसायी संघलाई सम्मान
संघको ५६ औँ वार्षिक साधारणसभाको अवसरमा फेन्सी व्यवासयी संघ चितवन सम्मानित भएको छ । संघले यसवर्षको उत्कृष्ट वस्तुगत संघ भनेर फेन्सी व्यवसायी संघलाई सम्मान गरेको कार्यक्रम संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष सिरीष पन्तले जानकारी दिए । उनकाअनुसार संस्थाको सदस्य संख्या, भौतिक पूर्वाधार विकास, संघमा आवद्धता तथा कार्यक्रममा देखाएको सहभागीता, सामाजिक उत्तरदायित्व, आर्थिक स्रोत परिचालन,सचिवालय व्यवस्थापन लगायतको मूल्यांकनको आधारमा फेन्सी व्यवसायी संघलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघमा हाल ३५ वटा वस्तुगत संघ आवद्ध छन् । 

मोवाइल एप सार्वजनिक
उद्योग वाणिज्य संघ चितवनले पहिलोपटक मोवाइल एप मार्फत संघको हरेक गतिविधि सार्वजनिक गर्ने प्रयास गरेको छ । संघको ५६औँ वार्षिक साधारणसभाको अवसर पारेर सोमबार उद्योग वाणिज्य संघको ‘सिसिआइसीएप’ सार्वजनिक गरिएको हो ।

संघ मातहतको वस्तुगत संघ‘कम्प्युटर एसोसिएसन महासंघ नेपाल चितवन’सँगको सहकार्यमा निर्माण गरिएको एपमार्फत संघको हरेक गतिविधि आम सर्वसाधारणले समेत थाह पाउने कार्यक्रम एप निर्माण संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले जानकारी दिए । उक्त एपबाट संस्थाको नयाँ सदस्यता वितरण, सदस्यता नवीकरण, सूचना प्रवाह, व्यवासायिक बजार प्रवद्र्धन लगायतका संस्थागत फाइदा हुने उनले बताए । 

‘उद्योग वाणिज्य सन्देश’ सार्वजनिक
संघले ५६ औँ वार्षिक साधारणसभाको अवसरमा विगतका वर्षजस्तै यसवर्ष पनि ‘उद्योग वाणिज्य सन्देश’ नामक विशेष बुलेटिन–२०७९ प्रकाशन गरेको छ । संस्थाले गरेको हरेक गतिविधिलाई संस्थाका सदस्यसम्म पु¥याउने लक्ष्य सहित बुलेटिन प्रकाशन गरिएको बुलेटिन प्रकाशन समितिका संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए । उक्त बुलेटिन सोमबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो । 

चितवन महोत्सवको तयारी 
उद्योग वाणिज्य संघ चितवनले हरेक दुई/दुई वर्षमा हुने चितवन महोत्सवको १४ औँ संस्करणको तयारी थालेको छ । आउँदो पुस ५ गतेदेखि माघ ४ गतेसम्म हुने महोत्सवको आन्तरिक तयारी चलिरहेको संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । प्रदर्शनी मैदान नारायणी नदी किनारमा हुने महोत्सवको लागि मैदान सम्याउने लगायतका बाहिरी काम समेत भइरहेको उनले बताए । चितवनको गरिमा र गौरवको आयोजना मानिँदै आएको महोत्सवबाट यसपटक पनि कृषि र पर्यटनले प्राथमिकता पाउने अध्यक्ष श्रेष्ठले बताए । 

images
प्रकाशित मिति :मंसिर २७, २०७९ मंगलवार - ०९:३६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology