सजना तिमल्सिना, काठमाण्डौ । काठमाडौँको भृकुटिमण्डपमा विद्युतीय सामानको मेला सुरु भएको छ । जहाँ नेपाली र विदेशी कम्पनीले उत्पादन गरेका विद्युतीय सामानबारे जानकारी पाउनुका साथै खरिद र अर्डर पनि गर्न सकिन्छ । थरीथरीका प्रदर्शनी र मेला भइरहने काठमाडौँको भृकुटीमण्डपमा अहिले विद्युतीय सामग्रीको प्रदर्शनी भइरहेको छ । जहाँ बिजुली बत्तिदेखि पङ्खा, सीसीटिभी, हिटर, पानी तताउने गिजरगायत घर र कार्यालयमा प्रयोग हुने विद्युतीय उपकरण राखिएको छ ।
उपभोक्ताले मेला अवधिमा बजारमा आएका विभिन्न कम्पनीका नयाँ नयाँ विद्युतीय सामान हेर्न, बुझ्न र किन्न पाइरहेका छन् । मेलामा नेपालसँगै भारत, चीन, जापान, सिङ्गापुर, ताइवान, फ्रान्स, स्पेनलगायतका देशमा उत्पादन भएका नयाँ नयाँ प्रविधि र डिजाइनका विद्युतीय सामान राखिएको छ । मेलामा घरायसी प्रयोजनका लागि सामान किन्ने मात्र नभइ व्यापार गर्नेहरू पनि पुग्ने गरेका छन् । नेपालमा बर्सेनि एक खर्ब ५० अर्ब रुपैयाँको विद्युत र विद्युतीय सामानकोकारोबार हुने गरेको छ ।
जसमध्ये एक खर्ब १३ अर्ब रुपैयाँको सामान विदेशबाट ल्याइन्छ । नेपालमै उत्पादन बढाउनुका साथै विजुलीको खपत बढाउन पनि मेला सहयोगी हुने नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष सुदर्शनप्रसाद पौड्याल बताउनुहुन्छ । कोरोना महामारीले थला पारे यता विस्तारै तङ्ग्रिन थालेका व्यवसायी यस्ता मेलाले व्यवसाय बृद्धिमा सहयोग पुग्ने आशामा छन् । अर्कोतिर, बिजुलीको खपत बढाउँदै पेट्रोलियममाथिको विदेशी निर्भरता घटाउन पनि विद्युतीय सामानको प्रयोग बढाउँदै लैजान आवश्यक छ ।