गोरखा, २० पौष
पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले गोरखा देखि काँकरभिट्टा सम्म रात्रीकालिन बस सेवा शुरु हुने भएको छ ।
अव एक हप्तामा सेवा संचालन गर्ने गरी तयारी भइरहेको प्रा.लि.को गोरखा शाखा कार्यालय प्रमुख राजन ढुंगानाले बताउनुभयो।
गोरखा सदरमुकामबाट दिउँसो १२ः४० मा बस छुट्ने उहाँले बताउनुभयो। ‘केही समय परिक्षणको रुपमा त्यो समयमा गाडी छुटाउछौ, १५ दिनपछि कुन समय उपयुक्त हुन्छ त्यही समयमा चलाउछौ,’ उहाँले भन्नुभयो । काँकरभिट्टाबाट भने दिउँसो करिव एक बजे गाडी छुट्ने उहाँले जानकारी दिनुभयो।
‘दुईवटा बस हुन्छन्, गोरखाबाट छुटेको बस कुरिनटारसम्म पुग्छ र त्यहाको मान्छे पनि लिएर मुग्लिन, नारायणगढ, हेटौडा हुदै काँकरभिट्टा जान्छ, र उताबाट छुटेको बस सोही रुट हुदै फर्कन्छ,’ उहाँले भन्नुभयो। यसअघि कुरिनटारबाट संचालन भएको उक्त सेवा अव गोरखाबाट शुरु गर्न लागिएको उहाँले बताउनुभयो । गोरखा देखि काँकरभिट्टा सम्मको दुरी ५५० किलोमिटर रहेको छ ।
यति लामो दुरीमा पहिलो पटक गोरखा सदरमुकामबाट बस सेवा शुरु गर्न लागिएको ढुंगानाले बताउनुभयो । ‘पहिले गोरखाबाट गौर, बर्दीवास, महेन्द्रनगर सम्म बस सेवा संचालन गरेका थियौ, यति लामो दुरीमा सेवा शुरु गर्न लागेको यो पहिलो पटक हो,’ उहाँले भन्नुभयो। जिल्लावासी सँगै छिमेकी जिल्लाका यात्रुहरुको सहजताका लागी सेवा शुरु गर्न लागिएको प्रालिले जनाएको छ ।