डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक–लिम्पियाधुरा लडेर फिर्ता ल्याउन नसकिने बताएका छन्। गृहजिल्ला डडेल्धुरा सदरमुकाम बसपार्कमा बिहीबार सत्ता गठबन्धनले आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लिपुलेक–लिम्पियाधुरा सीमा समस्याको समाधान वार्तामार्फत गरिने बताएका हुन्।
देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध कसिलो बनाउने पनि बताए। राजनीतिक नाफा घाटाका लागि सीमाजस्तो संवेदनशील विषयलाई अनावश्यक रूपमा मुद्दा बनाउन नहुने उनको भनाइ थियो। उनले वैदेशिक सम्बन्धमा सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने बताए।
उनले भने, ‘लिपुलेक खोसेर फिर्ता ल्याउन सकिँदैन। हामी भारतसँग लडेर फिर्ता ल्याउन सक्दैनौं,’ उनले भने, ‘सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुने हो।’
देउवाले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई २ बजे उठाएर संसद् भंग गरेको आरोपसमेत लगाए।
‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर ससद् भंग गरे,’ उनले भने, ‘त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ। यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण म प्रधानमन्त्री हुनुपरेको हो।’