गोल्डेन बुढा, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ गौतम बाडाका किसानले भित्र्याउने बेलाको मार्सी धानमा आगो लगाएका छन् । करिब ६० हेक्टरको गौतम बाडा ज्युलोभरि रोपिएको मार्सी धानबालीमा आगो लगाइएको हो।
सोहि वडाका धनकन्या उपाध्यायका अनुसार हेर्दा बाला देखिए पनि दाना लागेको छैन । अहिले ब्लाष्ट रोग सङ्क्रमणले धान सखाप भएपछि किसानले धान खेतभित्रै आगो लगाएको किसान लोगबहादुर हमालले बताउनुभयो ।
पशुपालन गरेका किसानले खाली पराल ल्याएका र पशु नपालेका किसानले खेतमै आगो लगाएका हुन् । जुम्लाको मार्सी धान र सिमी प्रमुख बाली हो ।
गएको दुई महिना अघि गौतम बाडा ज्युलोको मार्सी धानमा ब्लाष्ट रोग लागेको सूचना आएको थियो । तर सम्बन्धित निकायले चासो नदिँदा अन्तमा किसानले खेतमै आगो लगाएका हुन् ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले धानलाई रोगबाट बचाउन नसकिएको बताउनुभयो । धान उत्पादन नभएपछि स्थानीय सरकारले किसानका लागि राहतका कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले भनेकिसानलाई उचित राहतको व्यवस्था गर्ने बताउनुभयो ।