Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुरुङ घरवास

कोदोको ढिँडो र सिस्नुको तरकारीको स्वाद पस्कँदै नवलपुरको गुरुङ घरवास

कोदोको ढिँडो र सिस्नुको तरकारीको स्वाद पस्कँदै नवलपुरको गुरुङ घरवास

रासस

१५, कार्तिक २०७९
कोदोको ढिँडो र सिस्नुको तरकारीको स्वाद पस्कँदै नवलपुरको गुरुङ घरवास
images

काठमाण्डौ । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागतसँगै आर्थिक स्तर विकासका लागि खोलिएका कतिपय घरवासलाई आधुनिकताले छुँदै गएको छ ।  स्थानीय संस्कृति, रहनसहन र खानाका परिकार छाडेर आवासीय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ । जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरवासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ । त्यति मात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ । 

images
images

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत बौदीकाली गाउँपालिका–६ लहापेमा पर्ने गुरुङ घरवासले अझै पनि घरबासको मर्मलाई कायम राख्दै आएको छ । पूर्व–पश्चिम राजमार्गको कावासोतीबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने यस घरबासमा पुग्ने पाहुनाको रोजाइमा कोदोको ढिडो, सिस्नोको तरकारी र तामाको अचार पर्ने गरेको छ । घरवासमा आएका पाहुनाको रोजाइमा परेका ती परिकारको स्वाद चखाइरहेका छन् गुरुङ घरवासका सञ्चालक । “यहाँ आउने पाहुनाले यहाँको स्थानीय खान के पाइन्छ भन्ने गर्नुहुन्छ, हामीकहाँ कोदोको ढिँडो र सिस्नोको तरकारी मुख्य हो भन्दा उहाँहरू खुसी हुँदै त्यही माग्नुहुन्छ”, घरवास सञ्चालक पवित्रा गुरुङले भनिन् । कतिपयका लागि सिस्नोको तरकारी खाएको अनुभवसमेत नहुने हुँदा त्यसको माग गर्ने उनले बताइन् । यससँगै स्थानीयरूपमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी, स्थानीय जातका कुखुराका परिकार घरवासमा बस्ने पाहुनालाई प्रदान गर्ने गरिएको उनले जानकारी दिइन्।
 
“हामीले घरवासमा स्थानीयतालाई जोगाउन कोसिस गरिरहेका छौँ, त्यो खानाका परिकारमा मात्रै होइन, मनोरञ्जनका लागि प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतिमा समेत ग्रामीण कला, संस्कृति र रहनसहनलाई समेट्ने गरेका छौँ”, सञ्चालक गुरुङले भनिन् । मनोरञ्जनका लागि झाम्रे, कुरुवालगायत लोकगीतसहितका सांस्कृतिक कार्यक्रम पाहुनाका लागि प्रस्तुत गर्ने गरिएको उनको भनाइ छ । ती गीतमा स्थानीय विषयवस्तु, जीवनका सुख, दुःखका भोगाइ पर्ने गरेका छन् ।

धौबादी फलाम खानीको उत्तरी सिमाना लहापेमा पर्ने गुरुङ घरवास अग्लो पहाडको काखमा छ । प्राकृतिकरूपमा मनोरम स्थानमा पर्ने गुरुङ घरवास यहाँ रहेका १० घरपरिवार मिलेर विसं २०७३ देखि सञ्चालनमा ल्याएका हुन् । पहाडी क्षेत्रमा पर्ने यहाँको घरवासमा नवलपुरसहित आसपासका जिल्लाबाट समेत पाहुना आउने गरेका छन् । मुख्यगरी नवलपुरका राजमार्ग आसपास र चितवनबाट गर्मीको समयमा पाहुना लहापेस्थित घरबासमा आउने गरेका छन् । गर्मी छल्न बजार धेरैजसो यहाँ आउने गरेको गुरुङ घरबासका अध्यक्ष यमबहादुर गुरुङले बताए ।

गर्मी समयमा यहाँको मौसम चिसो हुने हुँदा पाहुनाको आगमन धेरै हुने उनले बताए । गुरुङ घरबासमा आउने आँखै अगाडि लमतन्न परेका अन्नपूर्ण, माछापुच्छे, धवलागिरि हिमशृङ्खलाका दृश्यावलोकन गर्न पाउँदा खुसी व्यक्त गर्ने गरेको अध्यक्ष गुरुङले बताए। “यहाँबाट मुख्य गरी विभिन्न हिमाल नजिकै देखिन्छ, यहाँ आउने जो–कोहीको मन हिमशृङ्खलाका दृश्यले तान्ने गर्दछ, पहाडी टाकुरा उस्तै देखिन्छन्”, अध्यक्ष गुरुङले भने, “यस कारण यहाँ आउने पाहुनाले रमाइलो महसुस गर्ने गर्दछन् ।” घरबासमा आएका पाहुना पहाडी पाखामा पैदलयात्राको अनुभवसहित मृग र घोरल अवलोकन गर्न पाउने उनको भनाइ छ । 

वर्षाको समयमा पहिराेका कारण बाटो अवरुद्ध हुँदा भने घरवास सुनसानजस्तै हुने गरेको अध्यक्ष गुरुङले बताए । “वर्षामा बाटो छेकिन्छ, बाटोको स्तरोन्नति गरे बाह्रै महिना घरबासमा सहजरूपमा पाहुना आउन सक्थे, यसका लागि सरोकारवालाले पहल गरिदिए हुन्थ्यो”, उनले भने । 

दश घरमा घरवास सञ्चालन गरिएको यहाँ २० वटा आवासीय कोठा छन् । एउटा कोठाको रु तीन सय ५० देखि रु चार सयसम्म लिने गरेको घरवास सञ्चालक चमकुमारी गुरुङले बताइन् । घरवास सञ्चालनपछि जीविकोपार्जनमा सहयोग पुगेको उनले बताइन्। पहाडी क्षेत्रमा अन्य रोजगारको अवसर नहुने भए पनि घरवास सञ्चालनपछि आयआर्जनको माध्यम बनेको उनले बताइन् । यसले घरपरिवारको आर्थिक गर्जो टार्न सहयोग पुग्दै आएको सञ्चालक गुरुङले बताइन्। 

 

images
प्रकाशित मिति :कार्तिक १५, २०७९ मंगलवार - ०८:१५:५० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology