निशु जोशी, नेपालगञ्ज । सिप र जाँगर भएका नेपालगञ्जका महिलातिहार विशेष परिकार बनाउन व्यस्त भउका छन् । परिकारहरूको पर्व समेत भनेर चिनिने तिहारमा सेल, फिनी, रोटी, अनरसा, झिलिङ्गा लगायतका तिहार विशेष परिकार बनाउनमा महिलाहरू व्यस्त भएका हुन् ।
३२ जना सदस्य रहेको सफल बहुउद्देश्यीय सहकारी संस्थाका सबै सदस्यले तिहारका लागि भाइ मसला, चामलको साटो, पिठोलगायत विभिन्न परिकार तयार पारेर बेचिरहेका छन् ।
नरीवल, ओखरसहित १७ प्रकारका सामग्री राखिएको ‘भाइमसला’ १ सय ५० देखि १ हजार ५० रुपैँयासम्ममा पाइन्छ । घरमै तयार गरेको सामग्री धमाधम बिक्री भएपछि हौसला मिलेको महिलाहरू बताउँछन् ।
महिलाले तयार पार्ने उत्पादन बेच्न महिला उद्यमी सङ्घ बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कोसेली घरले ५ वर्षदेखि सघाउदैँ आएको छ ।
कोसेली घरले पोहोर दुईजना महिलालाई तिहार विशेष परिकार बिक्रीको जिम्मा दिएकोमा यसवर्ष माग बढेपछि १० जनाले यो काम पाएका छन् । तिहार विशेष तयारी परिकारले एकातिर कामकाजीहरुलाई सजिलो बनाइदिएको छ भने अर्कोतिर सिप र जाँगर भएकाहरुका लागि आम्दानीको बाटो बनेको छ ।
यति मात्र होइन केही समय यता सहरी क्षेत्रमा देखिनै छोडेका मौलिक परिकारहरूको जानकारी र स्वाद नयाँ पुस्ताले पनि पाउन थालेको छ ।