उषा तामाङ, काठमाडौँ । प्रदेश, प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्नका लागि उम्मेदवारहरूले खासगरी विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन् । तर, समाजमा अन्त्य भएर पनि अन्त्य हुन नसकेको सामाजिक कुरितिका विषय भने उम्मेदवारको प्राथमिकतामा पर्न सकेको छैन ।
जातीय विभेद केही कम हुँदै गए पनि पूर्ण रुपमा अन्त्य नभएको बैतडीको पाटन नगरपालिकाका कर्बे सार्कीको अनुभव छ । तर, राजनीतिक दल र उम्मेदवारको चुनावी एजेण्डामा यो विषय कहिल्यै प्राथमिकतामा नपर्ने सार्कीको भनाइ छ ।जनताको भोट तान्न विभिन्न आश्वासन बाँड्ने र विकास निर्माणको सपना देखाउनु दल र उम्मेदवारको पुरानै चलन हो ।
आर्थिक विकास र समृद्धिको नारालाई जोडतोडका साथ अघि सारिरहँदा विभेदलगायत सामाजिक कुरितीहरु अन्त्य गर्ने कुरालाई राजनीतिक दल र उम्मेदवारले प्राथमिकता नदिएकोमा दाङको तुलसीपुरका तुलसी थापाको पनि असन्तुष्टि छ ।तर, उम्मेदवार भने सामाजिक कुरीति र कुसंस्कार अन्त्यको विषय आफूहरूको प्राथमिकतामा पर्ने दाबी गर्छन् ।
दोलखाबाट प्रतिनिधि सभामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी सामाजिक कुरीति अन्त्यका लागि थप कानून निर्माण गर्न आफ्नो योगदान रहने दाबी गर्नुहुन्छ । उहाँ मात्रै होइन अछाम– १ को ‘क’ बाट प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवार मेघराज खड्का पनि सामाजिक कुसंस्कार अन्त्यका लागि प्रतिवद्ध रहेको दाबी गर्नुहुन्छ ।
उम्मेदवारले निर्वाचनका बेला पूरा गर्न सकिने नसकिने सबै सपना देखाउँछन् । तर, निर्वाचित भएपछि वा पराजित भए पनि ती विषय सम्बोधन गर्न ध्यान दिँदैनन भन्ने आम नागरिकको भोगाइ छ । छुवाछुत लगायतका कतिपय मुद्दामा नेताहरूकै दबाबका कारण न्याय नपाएको पीडितले गुनासो गर्ने गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट धनुषा–३ ‘ख’मा प्रदेश सभा उम्मेदवार परमेश्वर साहकोे पनि चुनावी एजेण्डा यस्तै छ ।निर्वाचनका समयमा मतदाताको सक्रियता निकै महत्त्वपूर्ण कुरा हो । त्यसैले मत माग्न आउने उम्मेदवारलाई विभेद र कुरिती अन्त्यका लागि उनीहरुको योजना र प्राथमिकता के छ भन्ने सोध्न बिर्सनु हुँदैन ।