काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने बताएको छ ।
आइतबार सभापति गगन थापाको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो ।
तर, देउवा समूहले पुसमा भएको विशेष महाधिवेशन अवैधानिक भएको जिकिर गर्दै उक्त महाधिवेशनबाट आएको समितिले गरेका निर्णय नमान्ने निर्णय गरेको हो ।
सोमबार बिहान देउवा निवास चुनदेवीमा बसेको बैठकले मंसिरमा महाधिवेशन गर्नका लागि असोज १५ गतेदेखि अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको नेता दीपक खड्काले जानकारी दिए । संस्थापनले असोजमा १५औँ महाधिवेशन घोषणा गरेकामा यसअघि नै देउवा समूहले मंसिरमा महाधिवेशन तोकेको थियो ।
देउवा समूहका खड्काले राजनीतिक छलफल र समझदारी बेगर विशेष महाधिवेशनबाट आएको कार्यसम्पादन समितिले गरेका निर्णय नमान्ने निर्णय बैठकले निकालेको जानकारी दिए ।
‘बैठकले विशेष महाधिवेशनबाट आएको समितिले गरेका निर्णय अवैधानिक हुने भएकाले नमान्ने निर्णय गरेको छ,’ खड्काले रातोपाटीसँग भने, ‘एकपक्षीय रूपमा तय गरिएको अधिवेशनमा भाग नलिने र १४ औँ महाधिवेशनबाट आएको समितिले तय गरेको असोज १५ गतेदेखिको अधिवेशनको कार्यतलिका अनुरूप अधिवेशन गर्ने निर्णय भएको छ ।’
खड्काका अनुसार बैठकले महाधिवेशनका लागि आवश्यक पर्ने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समिति पनि गठन गर्ने र पूर्णता दिने निर्णय पनि गरेको छ ।
समूहले आइतबार मात्रै निर्वाचन समितिको संयोजकमा यगराज पोखरेललाई नियुक्त गरेको थियो । पार्टीको आधिकारिकतासम्बन्धी यसअघि सर्वोच्च अदालतले गरेको फैसलामा पुनरवलोकनको अनुमति प्राप्त भइसकेकाले त्यसबारे फैसला आउने बेलासम्म कुरेर आफ्ना गतिविधि अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबिच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद छ । देउवा र डा शेखर कोइराला समूहले विशेष महाधिवेशनलाई मानिरहेको छैन । उनीहरूले आफूहरूका तर्फबाट एकपछि अर्को माग राख्दै आएका छन् ।
देउवा र डा शेखर समूहले १५औँ महाधिवेशनका लागि गत पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने र १४ औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा समावेश गर्ने माग राखेको थियो । त्यो माग कार्यसम्पादन समितिले पूरा गरे पनि समूहको बैठकले विशेष महाधिवेशनको वैधानिकतामै प्रश्न उठाउँदै संस्थापनले असोज १६ देखि १९ गतेसम्म गर्ने महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्न देउवा समूहले सोमबार दिउँसो ४ बजे सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।