काठमाण्डौ । आगामी निर्वाचनमा प्रमुख दलहरू दुईवटा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिने भएका छन् । सरकारमा रहेक पाँचदलीय सत्तागठबन्धनविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि गठबन्धन बनाएको छ ।
उम्मेदवारी दर्ताको अघिल्लो दिन हिजो सत्तागठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको सहमति गरेको छ भने सिट बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीलाई एमालेले भित्र्याएको छ । प्रतिनिधिसभाका १७ र प्रदेश सभाका ४२ सिट पाउने गरी जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीसँग सहमति गर्नुभएको हो ।
लोसपाले भने सत्तागठबन्धनसँग प्रतिनिधिसभामा सात र प्रदेशमा १६ सिट पाउने गरी सहमति गरेको छ । सत्तागठबन्धनले हिजो मध्यराति मात्रै प्रतिनिधि सभाको सिट बाँडफाँड टुङ्ग्याएको छ ।
काँग्रेसले ८८, माओवादीले ४८, एकीकृत समाजवादीले २०, लोसपाले सात र जनमोर्चाले दुई सिट लिने सहमति भएको छ । तर, दलहरूबीच केही स्थानमा मित्रवत प्रतिस्पर्धा हुने गरी सहमति भएको छ ।