चितवन । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनको तर्फबाट चितवनमा आफ्नो भागमा परेको कोटामा माओवादी केन्द्रले उम्मेद्वार टुंग्याएको छ । माओवादी केन्द्रले दिएको जानकारी अनुसार चितवन क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ मा घनश्याम दाहाल ‘अविनाश’ लाई माओवादीले पुनः टिकट दिएको छ। यस अघि पनि उनै दाहाल सोही क्षेत्रबाट निर्वाचन लडेर निर्वाचित भएका थिए।
यस्तै माओवादी केन्द्रको भागमा परेको चितवन क्षेत्र नं. ३ को प्रतिनिधि सभा निर्वाचनमा चितवनका चर्चित फिजिशियन डा. भोजराज अधिकारीलाई टिकट दिईएको छ। पुष्पाञ्जली अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहेका डा. अधिकारी यस अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जितेको चुनाव क्षेत्र र यसपटक पुनः लड्ने भनी अन्तिम समयमा आएर छोडेको क्षेत्र चितवन ३ मा चुनाव लड्न लागेका हुन्।
यसैगरी माओवादी केन्द्रको भागमा परेको चितवन क्षेत्र नं. ३ प्रदेश सभा ‘ख’ मा ठाकुरप्रसाद ढकाललाई टिकट दिएको छ । ठाकुर २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाटै निर्वाचित भएको माडी नगरपालिकाका पूर्व मेयर हुन्।