सागर खड्का, सिन्धुपाल्चोक । पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मिहेनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ जना युवाको समूहले व्यावसायिक रुपमा अर्गानिक कृषि फार्म सञ्चालन गरिरहेको छ ।
सङ्घीय राजधानी काठमाडौसँगै जोडिएको भोटेचौरमा सिन्धु एकीकृत अर्गानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ । ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफुल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा, र स्थानीय जातका कुखुरा पालिएको छ । २५ जनाको समुहले ३ करोड लगानीबाट सुरु गरेको फार्ममा हाल ७ करोडभन्दा बढी लगानी पुगेको छ ।
स्वदेशमै केही गर्नुपर्छ भन्ने सोँचेर कृषि कर्मबाटपनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्ने लक्ष्य लिएको फार्मका सञ्चालक झलक सुवेदी बताउनुहुन्छ । अर्गानिक फार्ममा उत्पादन भएको तरकारी, फलफुल, कुखुरा, अण्डा, बाख्रा लगायतका कृषि उपज राजधानीसम्म ढुवानी हुने गरेको छ ।
करिब सात वर्ष विदेशमा कृषि क्षेत्रमा गरेको कामको अनुभवलाई थोरै लगानीमै स्वदेशमै केही गरेर जिविकोपार्जन र आम्दानी गर्ने उदेश्यले सामूहिक रुपमा कृषिकर्ममा अग्रसर भएको अर्का सञ्चालक रमा श्रेष्ठ बताउनुहुन्छ ।
बहुउदेश्यीय रुपमा सञ्चालित अर्गानिक फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधा सहितको फार्मस्टे पनि सञ्चालनमा छ । अहिले ३५ जनाले फार्म भित्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा स्थानीय शुक्रराज र विमला विश्वकर्माको दम्पती पनि खुशि हुनुहुन्छ ।
गाउँघरमै स्वरोजगार तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने यस्ता कृषि फर्म तथा स्वदेशमै बसेर कृषिमै केही गर्न चाहने युवालाई प्रोत्साहन गर्न तीनै तहका सरकारले लगानी गर्नु पर्ने फार्म सञ्चाकलहरूको अपेक्षा छ ।