चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्थलमार्ग हुँदै गृह जिल्ला चितवन आइपुगे । श्रीमती सिता दाहाललाई संगै लिएर आएका प्रचण्डले गृहजिल्लामा केहि दिन बिताउँदै छन् ।
प्रचण्ड आज भरतपुर महानगरपालिका–१४ मा बनेको आफ्नो नयाँ घरमा सर्दैछन् । यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन् । शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन् । उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको छ ।
माओवादी निकटको प्रेस सेन्टर चितवनले आयोजना गरेको दशैँ, तिहारलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पनि प्रचण्ड सहभागी हुँदै छन् । कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ ।
चितवन आएकै दिन आइतबार उनले विभिन्न पार्टी परित्याग गरी आएकालाई आफ्नो पार्टीमा प्रवेश गराए । जिल्लामा लामो समय नेतृत्व गरेका यमबहादुर परियारलगायतका नेता एमालेमा प्रवेश गरेपछि प्रचण्ड दबाबमा परेका छन् ।
उनले चितवन आएर कार्यकर्तालाई रिझाउनेदेखि चुनावको प्रचारका लागि विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तालाई रिझाउन चितवन आइपुगेका प्रचण्डले विविध राजनीतिक गतिविधि सञ्चालन गर्ने कार्यतालिका रहेको छ । उनले जिल्लामा असन्तुष्ट रहेका नेताहरुलाई अन्य पार्टीमा जानबाट रोक्ने रणनीति बनाएका छन् ।