अविनाश आचार्य, काठमाडौं । दलहरूले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र लेख्ने कामलाई तीव्रता दिएका छन् । हरेक निर्वाचनमा दलहरूले बनाउने घोषणापत्रमा नागरिकका आवश्यकता विषय भन्दा बढी अन्य विषयले प्राथमिकता पाउने गुनासो बढीरहेका बेला यसपटक दलहरूले तल्लो तहमै पुगेर सुझाव सङ्कलन गरिरहेका छन् ।
नेपाली काँग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम चरणमा पु¥याएको छ । घोषणापत्र तयारी समितिका सदस्य, रङ्गमति शाहीका अनुसार काँग्रेसले यसपटक सबै क्षेत्रका विज्ञहरूको समुह बनाएर घोषणापत्र तयार गरिरहेको छ ।
यसपटक काँग्रेसले गर्न सक्ने कामहरूको मात्रै सूची बनाएर १५ देखि २० पृष्ठको मात्रै घोषणापत्र बनाउने उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेले घोषणापत्रका लागि दल भित्रै र बाहिरका आम नागरिकबाट सुझाव मागिरहेको नेता विशाल भट्टराईले बताउनुभयो । यसपटक कृषि उत्पादन बढाउने र परनिर्भरता कम गर्ने विषयमा केन्द्रीत रहेर घोषणापत्र बनाईने उहाँले बताउनुभयो ।
प्राय घोषणापत्रमा गाउँलाई सुविधासम्पन्न बनाउने, गरिबी घटाउने, रेल र पानीजहाज चलाउनेजस्ता महत्वकाङ्क्षी योजना देखिन्छन् । तर, यस्तो विषयले आम नागरिकको दैनिकीलाई छुन सकिरहेको छैन । यस पटक नेकपा माओवादी केन्द्र भने घोषणापत्रका लागि सुझाव सङ्कलन गर्न तल्लो तहमै पुगेको छ ।
नागरिकका गुनासा र आक्रोसलाई उहाँहरूको सुझावको रुपमा लिएर सोहीअनुसार घोषणापत्र तयार पार्ने तयारी समितिका सदस्य लिलामणी पोखरेलले सीआईएनसँग बताउनुभयो । अन्य दलहरूले पनि निर्वाचन घोषणापत्रका लागि विभिन्न समुह बनाएर सुझाव सङ्कलन गरिरहेका छन् । तर, कार्यान्वयनमा गम्भीर नबन्दा घोषणापत्र औपचारिकता मात्रै भएको राजनितिक विश्लेषकहरू बताउँछन् ।