उषा तामाङ, काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा दूध आयात खुल्ला गरेपछि यसलाई रोक्न किसानहरूले माग गरेका छन् । साउनदेखि असोज महिनासम्म प्रत्यक वर्ष दूध अभाव हुने गरेको भन्दै दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएशन लगायतले दूध आयात खुल्ला गर्न सरकारलाई अनुरोध गरेपछि असोज महिनाभर प्रति दिन १ सय २० लिटर दूध आयात गर्न पाउने व्यवस्था गरिएको छ । रोकिएको आयात खुल्ला गरेपछि नेपालको दूध नबिक्ने भन्दै किसानहरूले यसको विरोध गरिरहेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दूध आयात गर्ने निर्णय तत्काल रोक्न माग गरिसकेको छ भने सरकारको निर्णयलाई राष्ट्रिय कृषक समूह महासङ्घले विरोध गरिरहेको अध्यक्ष नवराज बस्नेतले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने यो निर्णय विशेषगरि दुग्ध विकास संस्थान र निजी डेरीहरूका लागि भएको बताएको छ । पछिल्लो समय वार्षिक ३ अर्बभन्दा बढीको छुर्पी निर्यात हुन थालेपछि संस्थानलाई मात्रै दैनिक ५० हजार लिटर दूध अपुग भएकाले एक महिनाका लागि आयात खुल्ला गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो । डेरीको पहुँच गाउँसम्म नपुग्दा दूध बजारसम्म आइनपुगेको विषयलाई समाधान गर्न मन्त्रालयले यस वर्ष करिब १ सय स्थानीय तहमा सहकारी संस्थासँग समन्वय गरि डेरी उद्योग स्थापना गर्ने तयारी गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सहसचिव डा. बिमल कुमार निर्मलले भनेदूधको आयातलाई रोक्न सरकार, उद्योगी र किसानबीच समन्वय हुनुपर्ने बताउनुभयो । नेपालका लागि प्रतिव्यक्ति प्रति वर्ष ९१ लिटर दूध आवश्यक पर्ने गरेकामा हाल प्रति व्यक्ति प्रति वर्ष ८४ लिटर प्राप्त भइरहेको छ । पशु सेवा विभागका अनुसार भने पछिल्लो १० वर्षमा दूध उत्पादन दोब्बरले बढेको छ ।आर्थिक वर्ष २०६७÷०६८ मा वार्षिक १३ लाख मेट्रिक टन दूध उत्पादन हुन्थ्यो भने २०७७÷०७८ मा आइपुग्दा २४ लाख ७९ हजारभन्दा बढी दूध उत्पादन भएको हो ।