सरिता पराजुली, जुम्ला । जुम्लामा उत्पादित अर्गानिक स्याउको प्रचार र प्रवद्र्धनमा सघाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव एक हजारभन्दा बढी मानिसले अवलोकन गरेका छन् । जुम्लामा उत्पादित स्याउको महत्व पहिचान गर्न तथा बजारिकरण गर्न सहयोग पुग्ने उद्देश्यका साथ सोमवार र मङ्गलवार महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा ६० जना किसानहरूले आ–आफ्नो बारीमा उत्पादित स्याउ प्रर्दशन गरेका थिए । जुम्लामा प्रति वर्ष लगभग १२ हजार मेट्रिक टन स्याउ फल्ने गरेको छ । जुम्लामा स्याउ खेती गर्नेहरू पनि बढिरहेका छन् ।
स्याउको उत्पादन जसरी बढिरहे पनि सोही अनुसारको बजार भने बढ्न सकेको छैन । जुम्ली स्याउको गुणस्तर र महत्वका बारेमा समेत जानकारी कम भएकोले यसको प्रचारको लागि काञ्जिरोवा टाइम्सले महोत्सवको आयोजना गरेको हो । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लामा ४ हजार २ सय ५० हेक्टरमा स्याउ खेती गरिएको छ ।