स्नेहा कर्ण, काठमाडौँ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा प्रत्यक्ष उम्मेदवार सिफारिसमा भने जिल्लास्तरका नेताहरूको आकर्षण चर्चितनेतामा देखिएको छ । चुनावको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरू अहिले उम्मेदवारको नाम टुङ्गो लगाउने र सिफारिस गर्ने रस्साकस्सीमा छन् । तर शीर्ष तहमा रहेका, चर्चित नेताका लागि भने तानातान भइरहेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट उठ्ने बताइरहँदा उहाँको नाम बागलुङबाट सिफारिस भएको छ भने यस अघि सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आगामी निर्वाचनका लािग बारा, पर्सा र सप्तरीबाटै सिफारिस हुनुभएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापा अहिले काठमाडौँ क्षेत्र नम्बर ४ बाट सांसद हुनुहुन्छ । तर उहाँलाई सर्लाही काँग्रेसले उम्मेदवारको रूपमा सिफारिस गरेको छ । हालसम्म ठूलासाना दलका गरेर कम्तिमा ६ जना नेताहरूको नाम १ भन्दा बढी र फरकफरक स्थानबाट सिफारिस भएको छ ।
निर्वाचन आयोगले आउँदो निर्वाचनमा कुनै एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था गरे पनि शीर्ष नेतालाई दुईवा त्योभन्दा धेरै स्थानबाट सिफारिस भइरहेको छ । एकजना विश्लेषक पुरुषोत्तम दाहाल नेताले आफ्नो लोकप्रियता देखाउनकै लागि धेरै ठाउँबाट माग भएको जस्तो देखाउन खोजेको बताउनुभयो ।
अहिलेसम्मको सिफारिसको अवस्था हेर्दा पार्टीभित्रैको असन्तुष्टि, गुटगत तानातानका कारण सिफारिस गरिएका उम्मेदवार दोहरिने गरेको एकातर्फ पाइन्छ । अर्कोतर्फ सिफारिसमा पर्नुलाई प्रतिष्ठासँग जोड्ने परिपाटीका कारण पनि सम्बन्धित व्यक्तिको इच्छाअनुसार नै जिल्लाबाट सिफारिस गर्नुपरेको कतिपय नेताहरूको भनाइ छ ।