सुसिला श्रेष्ठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुरोधमा होटेल, रेस्टुरेन्ट, बैँक, गैरसरकारी संस्था तथा अन्य व्यवसायमा रहेका शौचालयलाई सार्वजनिक बनाइएपछि सहज भएको छ । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार काठमाडौँ महानगरपालिकाको जनसङ्ख्या अनुसार पालिकामा कम्तिमा १ हजार २ वटा सार्वजनिक शौचालय आवश्यक पर्छ । तर महानगरमा हाल ५९ वटा मात्रै सार्वजनिक शौचालय छन् ।
काठमाडौँ महानगरले सार्वजनिक शौचालयको समस्या समाधान गर्न होटल, रेस्टुरेन्ट, बैँक, गैरसरकारी संस्था तथा अन्य व्यवसायमा रहेका शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न दिन आह्वान गरेको थियो । महानगरको आग्रहमा ५१ वटा होटल तथा संस्था यो अभियानमा जोडिएसँगै नागरिकलाई सहज भएको छ ।
व्यावसायिक भवनको शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिएपछि सहज भएको कोटेश्वरका राम कार्कीले बताउनुभयो । गत जेठ १६ गते बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले होटल, रेस्टुरेन्ट, बैँक, निजि तथा गैह्रसरकारी सङ्घसंस्थामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन दिन आह्वान गरेको थियो ।
होटलको बाहिर नै सार्वजनिक शौचालयको बोर्ड देखेर दैनिक १ सय जनाभन्दा बढी प्रयोगकर्ता पुग्ने गरेका छन् । अभियानमा जोडिएका रेष्टुरेन्ट तथा सङ्घ, संस्थाले पानी र ढलको व्यवस्थापनको लागि भने महानगरसँग अपेक्षा गरेका छन् । महानगरसँग जोडिएका यस्ता संस्थासँग ५ वर्षका लागि सम्झौता गरिएको छ ।
शौचालय प्रयोगवापत सेवाग्राहीसँग शुल्क लिन पाइनेछैन भने आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन गर्न पाइँदैन । यो अभियानलाई अझै सुधार गरेर लैजाने गरि काम भइरहेको महानगरका सह–प्रवक्ता महेशकुमार काफ्लेले बताउनुभयो ।
महानगरभित्र ५९ वटा निशुल्क प्रयोग गर्न सकिने सार्वजनिक शौचालय रहेका छन् भने ९२ वटा शौचालय शुल्क तिरेर प्रयोग गर्न सकिने खालका छन् । काठमाडौँको जनघनत्व अनुसार शौचालय पर्याप्त नभएका बेलामा महानगरको यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।