काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ । एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मङ्सिर २ गतेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यस्तै बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय पनि गरेको छ । बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् । यस्तै बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी असोज दोस्रो साता बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय पनि गरेको छ ।