काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आगामी निर्वाचनमा समानुपाति सहभागिताको बारेमा महिला सांसदहरूले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने र त्यस बारेमा छलफलको तयारी गरिएको छ ।
गठबन्धनका कारण स्थानीय तहको निर्वाचनमा महिला उम्मेद्वार कम उठाइएको भन्दै आलोचना भयो र त्यसैअनुसार कम महिला जनप्रतिनिधि नेतृत्वमा पुगेका छन् । ५ दलको एक मात्र उम्मेद्वार उठाउँदा महिलालाई उम्मेद्वार नबनाउने खतरा यसपटक पनि दोहोरिन सक्ने भन्दै प्रदेश सभा र सङ्घीय निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन महिला सांसदहरू सक्रिय भएका छन् ।
आजको संसद बैठकमा नेकपा एमालेका सांसद विन्दा पाण्डेले दोस्रो जनआन्दोलन २०६२÷०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधानले स्वीकार गरेको परिवेशमा महिलाको उल्लेखनीय सहभागिता नभएकाले आगामी निर्वाचनमा प्रदेश सभा र सङ्घीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै जरुरी सार्वजनिक महत्वको विषयमाथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद बन्दीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सांसद अमृता थापाले निर्वाचनमा महिला सहभागिता ५० प्रतिशत बनाउने तथा स्थानीय तहको निर्वाचनमा अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको सहभागिता लगायत विषयमा सुझाव दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताब पेश गर्नुहुने कार्यसूचीमा उल्लेख छ । प्रस्तावमा अरु १० सांसदहरूको समर्थन रहेको छ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको छ ।