डम्बरबाबु बोहरा, खोड्पे बैतडी । सुदूरपश्चिमका ग्रामीण बस्तीबाट युवाहरू विदेशिने क्रम बढेको छ । स्थानीय तहले रोजगारीका अवसर सिर्जना गरेको दाबी गरेपनि ग्रामीण क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । उनिहरूलाई गाउँमै राख्न र रोजगारीमा जोड्न स्थानीय सरकारले आवश्यक पहल नगरेको युवाहरू बताउँछन् ।
बैतडीका ग्रामीण बस्तीहरूमा खेतिपातीका लागि युवा जनशक्ती पाउन मुस्किल परेको छ । स्थानीय सरकारले गाउँमै सीपमुलक तालिम चलाएको र युवाहरूको रोजगारीमा जोडिने क्रम बढेको बताएपनि बास्तविकता त्यस्तो नभएको मेलौली नगरपालिका ३ का ललित चन्दले बताउनुभयो ।
गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय बैतडीमार्फत सात सय ५० जनाले राहदानी लिएका छन् भने, एक हजार आठ सय ४३ जनाले राहदानीका लागि सिफारिस लिएका छन् । ति मध्य झण्डै ७० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएको सरकारी अनुमान छ ।
युवालाई गाउँमै टिकाउन, रोजगारीमा युवा लक्षित कार्यक्रमको प्रभावकारिता बढाउनुपर्ने सिगास गाउँपालिका ८ का देवसिंह धामीले बताउनुभयो । स्थानीय सरकारहरुले भनेयुवा रोजगारका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।
पालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा लगानी गरेर, युवालाई गाउँमै रोजगारीको अवसर सिर्जना गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीको दावी छ ।
युवाहरूलाई गाउँमै रोजगारी दिने उद्देश्यसहित पालिकाहरूले एक घर एक रोजगारदेखि अन्य विभिन्न कार्यक्रम प्रत्येक वर्षको नीति तथा कार्यक्रममा समेट्छन् । तर प्रभावकारी कार्यान्वयन नहुँदा पालिकाको सीप विकास सम्बन्धी तालिम र रोजागरका कार्यक्रममा युवाहरूको आकर्षण बढ्न सकेको छैन ।