मनकामना । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर परिसरमा सत्तल निर्माण गरिएको छ । भक्तजनले पुजापाठ गर्ने, भजनकीर्तन गर्ने, होम, रुद्री गर्ने ठाउँको रुपमा सत्तलको प्रयोग आउने मनकामना मन्दिर जिर्णोद्वार समितिले जनाएको छ ।
‘मन्दिर निर्माणमा खर्च भएको बाहेकको रकमबाट मन्दिर छेउमा घर, घरमाथि सत्तल बनाइएको हो’, जिर्णोद्वार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने, ‘अहिले निर्माणको क्रममा रहेकाले कति बजेट खर्च हुन्छ भन्ने यकिन भईसकेको छैन ।’ सत्तल मन्दिरको आँगन सतहबाट दुई तलाको हुनेछ । यसअघि पुरानो मन्दिर हुँदा सत्तल पश्चिम भागमा थियो । पुरातत्व बिभागका प्राविधिकले पश्चिम भागबाट सुन्दर दृष्यदेखिने भएकाले सत्तलले दृष्य नछेक्नेगरी बनाउन भनेको जिर्णोद्वार समितिका अध्यक्ष श्रेष्ठले बताए ।
‘मन्दिर छेउमा संरचना बनाउँदा स्मारक ऐन अनुसार बनाउन भन्नुभयो, हामीले पनि सोही अनुसार पुराना झ्यालहरुको प्रयोग गरेर कलात्मक सत्तल बनाउँदैछौँ’ उनले भने । सत्तलमा कोठाहरु छ । त्यहाँ सामग्री राख्न सहज हुन्छ । परेवाका लागि भित्तामा प्वालहरु बनाइएका छन् । मन्दिर निर्माणका क्रममा संकलन भएको रकमबाट काम भईरहेको छ । ‘बली दिएको पशुपंक्षीको रगत राम्रोसँग बग्ने गरी केही काम गर्न बाँकी छ’ अध्यक्ष श्रेष्ठले भने ।







