भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले संस्थाको २८औँ स्थापना दिवस मनाउने तयारी गरेको छ । हरेक वर्ष अंग्रेजी मितिअनुसार अगष्ट महिनाको ९ तारिखमा पर्ने यो दिवस कोरोना भाइरस संक्रमण जोखिमका कारण विगत केही वर्षयता मनाउन पाएको छैन । तर, अवस्था केही सहज भएका कारण यसवर्ष भव्य तरिकाले दिवस मनाउने तयारी भइरहेको नेफिन चितवनका कार्यवहाक अध्यक्ष महेन्द्र दुराले जानकारी दिए ।
उनका अनुसार शनिबार नेफिन चितवनको कार्यलयमा सम्पन्न जातीय संस्थाका अध्यक्षहरू सहितको बैठकले दिवस मनाउने निर्णय गरेको हो । आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने गरी कार्यक्रम गर्ने तयारी भइरहेको कार्यवहाक अध्यक्ष दुराले जानकारी दिए । चितवनमा आदिवासी जनजाति समुदायअन्तर्गत १७ जाति नेफिनमा आवद्ध छन् ।
त्यसबाहेक नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गरी केही संस्थाहरूले भने भातृ तथा शुभेच्छुक संस्थाको रूपमा आवद्धता लिएका छन् ।