स्नेहा कर्ण, काठमाडौँ । निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न पाउने व्यवस्था गरेपछि सहज भएको सेवाग्राहीले बताएका छन् । प्रदेश र सङ्घको आगामी निर्वाचनका लागि गत असार १ देखि मतदाता नामावली सङ्कलनको काम सुरुको २९ दिनपछि निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न पाउने व्यवस्था गरेको थियो ।
भीड व्यवस्थापनमा समस्या भएको भन्दै निर्वाचन आयोगले सुरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट मात्रै अनलाइन मतदाता नामावली दर्ता सुरु गरेकोमा साउनको पहिलो हप्ताबाट ५ जिल्ला थपिएका छन् । अनलाइन दर्ता गरेर कार्यालय जाँदा लामो समयसम्म लाइनमा बस्नु नपर्ने भएकाले सहज भएको बाराका ओम यादवले बताउनुभयो ।
अनलाइन दर्ता प्रणालीले छोटो समयमा धेरैको मतदाता नामावली दर्ता गर्न सकिने जिल्ला निर्वाचन कार्यालय ललितपुरका जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेले बताउनुभयो । देशभरबाट अनलाइन आवेदन दिनेहरूको सङ्ख्या एकिन नभए पनि दैनिक ३ देखि ५ सयको हाराहारीमा आवेदन पर्ने गरेको निर्वाचन आयोगको भनाइ छ ।
यो व्यवस्थाले नामावली दर्ता गराउन सजिलो भए पनि सबै जिल्लामा विस्तार गरिएको छैन । अनलाइन नामावली दर्ता देशव्यापी बनाउनका लागि विद्युत, इन्टरनेट लगायतको उपलब्धताबारे छलफल भइरहेकाले देशभर विस्तार गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताउनुभयो ।