खड्क सुनार, मुगु, ७ साउन । मुगु जिल्लामा रहेको एक विद्यालयमा भौतिक संरचना अभाव हुदा विद्यार्थीहरू एउटै कक्षामा पठनपाठन गर्न बाध्य भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नम्बर ९ तलिकालैमा रहेको मष्टा आधारभूत विद्यालयमा भौतिक संरचनाको अभाव हुँदा विद्यार्थी एउटै कक्षामा बस्नुपरेको हो ।
२०६८ सालमा स्थापना भएको यस विद्यालयको भौतिक संचरना व्यवस्थापनका लागि स्थानीय सरकारलगायत अन्य निकायले ध्यान नदिएको विद्यालयले जनाएको छ । कक्षा १ देखि ४ सम्म पढाइ हुने यस मष्टा आधारभूत विद्यालयमा छात्रा ४८ र छात्र ५० गरि हाल ९८ जना अध्यायनरत छन् । विशेषगरि विद्यालयमा गरिब, विपन्न, अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा छात्र र छात्रा राख्नुपरेको प्रधानाध्यापक रत्न प्रसाद चौलागाईँले बताउनुभयो । विद्यालयमा भौतिक संरचनाको अभाव छ भनेर स्थानीय सरकारलाई जानकारी गराए पनि कुनै पनि सुनुवाइ नभएको प्रधानाध्यापक चौलागाईँको गुनासो छ ।