उषा तामाङ, काठमाण्डौ, २ साउन । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिने समस्या देखिएको छ । त्रिविले लिने परीक्षामा एउटै विषयको प्रश्नपत्र हुबहु छापिने, पाठ्यक्रम विपरितका प्रश्न आउने, पुराना पाठ्यक्रम अनुसारका प्रश्न आउने जस्ता त्रुटी दोहोरिरहेका हुन् ।
विद्यार्थीको सिकाई मापन गर्ने परीक्षामा हुने लापरबाहीले त्रिविको परीक्षा प्रणाली र गुणस्तरियतामा नै प्रश्न उठाएको छ । गत जेठमा सञ्चालित मानविकी सङ्कायको स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत सार्वजनिक अर्थतन्त्र र स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको अन्तर्राष्ट्रिय राजनीति विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।
त्यसैगरी असार २२ गते भएको अर्गनाइजेशनल बिहेभियर’ विषयको प्रश्न तीन महिना अघि सोह्रखुट्टे स्थित एउटा निजी कलेजले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्रसँग दुरुस्तै मिलेको थियो भने असार २५ गते बीबीए छैटौँ सेमेष्टरअन्तर्गतकोनेपाली समाज र राजनीति सम्बन्धी विषयमा व्यवसायको लागि समाजशास्त्र विषयको प्रश्नपत्र बाँडिएको थियो ।
करिव एक महिनाको अवधिमा ४ वटा विषयको प्रश्नपत्रमा लापरबाही भएपछि लाखाँै विद्यार्थीको भविष्यमाथि विश्वविद्यालयले खेलवाड गरेको भन्दै विरोध भइरहेको छ ।
यसअघि २०७५ पुस २९ गते त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर तह भौतिकशास्त्रको प्रथम सेमेस्टर अन्तर्गत क्वान्टम मेकानिक्स विषयको परिक्षामा ४५ पूर्णाङ्क मध्य ४० अङ्कको प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएको थियो ।
विश्वविद्यालयको यो लापरबाहीले जीवनमा अपूरणीय क्षति पुगेको विद्यार्थी आशिष पौडेलले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर लेखनाथ शर्माले भने सामान्य विषयमा हेलचेक्र्याई गर्दा यति ठुलो समस्या हुने गरेको भन्दै त्रिविले यसलाई गम्भिर रुपमा लिएको बताउनुभयो ।
प्रश्न पत्रको निर्माण विषयविज्ञ प्राध्यापकबाट गरिने, त्यसको अर्को तहबाट पुनः मूल्याङ्कल गरिने, र यसमा सहायक डीनको प्रत्यक्ष संग्लनता रहने व्यवस्था छ । तर, व्यवस्था एकातिर भए पनि त्रिभुवन विश्वविद्यालयले भर्खरै पढाउन थालेका वा करार शिक्षक तथा कतिपय अवस्था आफ्ना वरिपरिका मानिसलाई प्रश्नपत्र बनाउने जिम्मा दिने गरेको छ ।
त्यसैले यस्तो समस्या आउने गरेको त्रिभुवन विश्व विद्यालयका पूर्व शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको भनाइ छ । ६३ वर्षे इतिहास बोकेको त्रिविले प्रश्नपत्र निर्माणमा बारम्बार लापरबाही गरेका कारण शिक्षाको गुणस्तरियतामा नै प्रश्न उठ्ने गरेको छ ।