Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बिरामी पठाउने डडेल्धुराले डाक्टर पठाउन देखेको सपना

बिरामी पठाउने डडेल्धुराले डाक्टर पठाउन देखेको सपना

बिरामी पठाउने डडेल्धुराले डाक्टर पठाउन देखेको सपना
images

नवराज पनेरु, धनगढी, २८ असार । विक्रम संवत् ०७८ माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गर्‍यो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘डडेल्धुरा अस्पताल नै आधार संकायका रूपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने छ ।’ प्रतिष्ठानका रूपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेकोमा मन्त्रिपरिषद्ले मेडिकल कलेजको रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

images
images

सोही निर्णयपछि जेठ १५ गते सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको योजना अटायो । बजेटमा नै ’डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने’ उल्लेख भएपछि जिल्लावासी डाक्टर उत्पादनको सपना बुन्न थालेका छन् । जिल्लास्तरीय समन्वय समिति गठन गर्दै मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यालयका प्रमुखहरू सदस्य राखिएको छ । जिल्लास्तरीय समन्वय समितिका संयोजक जोशीका अनुसार मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गाको जोहो गर्न थालिएको छ । ‘डडेल्धुरा अस्पतालको स्वामित्वमा रहको जग्गा मात्रै पर्याप्त हुँदैन,’ अमरगढी नगरपालिकाका मेयरसमेत रहनुभएका समन्वय समितिका संयोजक जोशीले भन्नुभयो– ‘डडेल्धुरा बहुमुखी क्याम्पसका नाममा रहेको जग्गा र अन्य क्षेत्रको जग्गा पनि मेडिकल कलेज स्थापनाका लागि प्रयोगमा ल्याउन छलफल भइरहेको छ ।’

मेडिकल कलेज सञ्चालनका लागि सुरुमा तीन वर्ष अस्पताल सञ्चालन गर्ने र त्यसपछि मात्रै चिकित्सा शिक्षाको अध्यापन सुरु गर्न पाउने व्यवस्था रहेको छ । ‘डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा सञ्चालन भइरहेको सुदूरपश्चिम प्रदेशको एक्लो अस्पताल हो,’ डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले भन्नुभयो– ‘त्यसैले मेडिकल कलेज स्थापना गर्न डडेल्धुरा अस्पताललाई नै आधार बनाउने तयारी छ । यसले डडेल्धुरा जिल्लाबाट छिट्टै चिकित्सा शिक्षा अध्यापन पनि गर्न सकिन्छ ।’ ओझाका अनुसार मेडिकल कलेज सञ्चालनका लागि कम्तिमा २ सय रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अस्पतालको नाममा १ सय ५३ रोपनी जग्गा रहेकोमा बाँकी जग्गा खोज्ने काम भइरहेको ओझा बताउनुहुन्छ ।

कसरी भयो मेडिकल कलेज स्थापनाको निर्णय
डडेल्धुरा र डोटीमध्ये कुनै एक ठाउँमा मेडिकल कलेज स्थापना हुनुपर्ने माग गर्दै डाक्टर गोविन्द केसी डडेल्धुरा अस्पतालमै पुगेर अनसन बसेका थिए । मेडिकल कलेज स्थापनाकै लागि डाक्टर केसीले प्रधानमन्त्री देउवालाई पत्रसमेत पठाएका थिए । ‘२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्‍याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिनुपर्छ । हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोलिनुपर्छ,’ डाक्टर केसीले ०७८ साउनमा प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा उल्लेख थियो ।

त्यसको ६ महिनापछि माघमा मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज स्थापनाको निर्णय गर्‍यो । मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम भने फागुनदेखि नै अगाडि बढेको थियो । ०७८ साल फागुन अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, प्रशासन महाशाखा प्रमुख अशोकसिंह भण्डारी सहितको टोलीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिएको थियो । स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको विज्ञ टोली तथा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत डडेल्धुरा मेडिकल कलेजको लागि जग्गा र अन्य प्राविधिक पाटोका विषयमा जानकारी लिन निर्देशन दिएपछि विश्वविद्यालयको टोली डडेल्धुरा पुगेको थियो । उक्त टोलीले जिल्लामा मेडिकल कलेज सञ्चालनको निर्णय उपयुक्त भएको ठहर गरेको थियो ।

प्रधानमन्त्रीको जोडबल
स्थानीय तह निर्वाचनअघि गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक मेडिकल कलेज स्थापना हुने ठोकुवा गरे । धेरैले यसलाई चुनावी फण्डा भएको बताए । निर्वाचनपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको योजना जसरी पनि कार्यान्वयन गर्ने दाबी गर्दै आएका छन् । असार पहिलो साता सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने ठोकुवा गरे ।

‘यसै वर्षदेखि सुदूरपश्चिम विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउँदैछौं,’ प्रधानमन्त्री देउवाले भन्नुभएको थियो, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ । डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुन्छ ।

माघमा मन्त्रिपरिषद् बैठकले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको निर्णय गरेको थियो । त्यसको प्रस्ताव स्वास्थ्य मन्त्रालयले लगेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजान पटकपटक अस्वीकार गरेका थिए । पछि प्रधानमन्त्री देउवाले नै आग्रह गरेपछि मेडिकल कलेजको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर निर्णय भएको चर्चा डडेल्धुरामा छ । त्यसले पनि डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रधानमन्त्री देउवाले जोडबल गर्दै आएको पुष्टि हुने कांग्रेस नेताहरूको दाबी छ ।

यस्तो छ डडेल्धुरा अस्पतालको अवस्था
मेडिकल कलेज सञ्चालनका लागि सरकारले डडेल्धुरा अस्पताललाई आधार बनाएको छ । उक्त अस्पतालले झण्डै ५७ वर्षदेखि फरकफरक नामले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । ०२२ सालमा अमेरिकादेखि आएका डा. सिमनले डडेल्धुरा सदरमुकामबाट ६ किलोमिटरको दूरीमा रहेको पोखरा बजारनजिक नदी किनारमा मेडिकल खोलेका थिए । मेडिकलमा बिरामीको चाप बढेपछि मेडिकलले टिम अस्पतालको नाम पायो । टिम नेपाल संस्थामार्फत अस्पताल सञ्चालन हुँदै अएको थियो । सेवा प्रवाहमा सहजता हुने र सर्वसाधारणको पहुँच पनि बढ्दै जाने विश्वाससहित उक्त अस्पताललाई डडेल्धुरा सदरमुकाममा सारियो । सो समयमा १० जना विदेशी विशेषज्ञ डाक्टर अस्पतालमा कार्यरत थिए ।

नेपाल सरकारले भिसा निरन्तरता दिन आनाकानी गरेपछि विदेशी डाक्टर घट्दै गए भने अस्पताल सञ्चालन गर्दै आएको टिम नेपाललाई धर्म परिवर्तन गराउन सक्रिय भएको आरोप लाग्यो । त्यसपछि मानव विकास तथा सामुदायिक सेवाले उक्त अस्पताल ५ वर्षसम्म सञ्चालन गर्‍यो ।

०७० सालमा टिम अस्पताल र जिल्ला अस्पताल मिलाएर उपक्षेत्रीय अस्पताल घोषणा गरियो । उपक्षेत्रीयको नाम दिइएको अस्पतालसँग संरचना भने टिम अस्पतालकै थियो । ०७५ सालमा फेरि नाम परिवर्तन गर्दै संघीय सरकारले विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै डडेल्धुरा अस्पताल नामाकरण गर्‍यो । प्रदेशमा संघीय सरकारको मातहतमा रहेको एकमात्र अस्पताल सय शैय्यामा मात्रै सञ्चालन हुँदै आएको छ । अधिकांश संरचना टिम अस्पतालकै छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चेतराज भट्टले भन्नुभयो– ‘दरबन्दीअनुसारको जनशक्ति अस्पतालमा अहिले पनि अभाव छ । ४ जना मात्रै दरबन्दीका चिकित्सक हुनुहुन्छ । बाँकी करार सेवामा कार्यरत छन् ।’ पहिलेको भन्दा डडेल्धुरा अस्पतालले प्रदान गर्दै आएको सेवा भने सुधार भएको दाबी मेसु भट्टको छ । ‘पहिले सामान्य उपचारका लागि पनि धनगढी लगायतका क्षेत्रमा बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता थियो,’ मेसु भट्टले भन्नुभयो– ‘अहिले अस्पतालमा ८/९ वटा विभाग सञ्चालन भइरहेका छन् । गम्भीर प्रकृतिका बिरामीको पनि उपचार भइरहेको छ । करार सेवामै भए पनि अस्पतालको इतिहासमा सबैभन्दा बढी चिकित्सक कार्यरत छन् । भौतिक संरचना पनि निर्माण भइरहेका छन् ।’

डाक्टर भट्टका अनुसार डडेल्धुरा अस्पतालमा उपचारका लागि आउने बिरामी डडेल्धुराभन्दा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका बढी छन् । ‘अहिले बिरामीको चापलाई हेर्दा दीर्घकालीन रूपमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मेडिकल कलेज अपरिहार्य देखिन्छ,’ डाक्टर भट्टले भन्नुभयो– ‘त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।’

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - २०:५७:५४ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology