धन बहादुर बोहरा, बाजुरा, १३ असार । बाजुराको १ सय भन्दा बढी गाउँ बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्याङ्क अनुसार ९ वटै स्थानीय तहका एक सय १६ गाँउ बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला बिपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाँउ जोखिम रहेको र अहिले ति सबै गाउँमा बर्षा सुरु भएसँगै पहिरोको उच्च जोखिममा रहेकाले बस्ती सार्नु पर्ने स्थानीयहरूले बताएका छन् ।
त्रिबेणी नगरपालिकामा १३ गाँउका ९ सय ७१ परिवार उच्च जोखिममा रहेका छन् भनेवडा नम्बर १ विशाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ सिम्ला, सिन्नेकोटका २ सय ७२ घरधुरी, वडा नम्बर ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी तथा वडा ५ को किम्नीका २ सय १७ घरधुरी जोखिममा रहेका छन् ।
बुढिगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार उच्च जोखिममा रहेका छन् भने खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
बडिमालिका नगरपालिकाको तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर चुथी मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना,र पाटा लगायत १५ गाँउ उच्च जोखिममा रहेका छन् । गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् ।