सुशिला ओली, दाङ, ५ असार । लुुम्बिनी प्रदेशका मगर समुदायले जमिनको पूजा गरी भुमे पर्व मनाएका छन् । भुमिको पूजा गर्नाले अन्न उत्पादन बढ्ने तथा प्राकृतिक प्रकोप कम हुने विश्वास गरिन्छ । असार १ गतेबाट भुमे पर्व सुरू हुन्छ भने एक हप्तासम्म मनाइन्छ ।भुमीको पूजा गरेर मनाइने भएकाले यो पर्वलाइ भूमे पर्व भनिएको हो ।
यो पर्व मनाउदा मगर समुदायले परम्परागत पहिरन लाउने गरेका छन् । परम्परागत गितमा नाच्ने पनि चलन रहेको छ । वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस, उत्पादन बढोस् तथा प्राकृतिक विपदका घटना नघटुन् भनेर भुमिको पूजा गरिन्छ ।
उत्पादन बिना मानव जीवन संभव नरहेकाले पनि भूमिको सम्मान गर्नुपर्ने धारणाका साथ पर्व मनाउने गरिएको नेपाल मगर संघ दाङका अध्यक्ष खलुप्रसाद पुन बताउनुहुन्छ।दाङमा पुरानो बसोबास रहेका मगर समुदायसँगै रुकुम, रोल्पा, सल्यान, प्यूठानबाट बसाइ बसेर दाङमा बसेका मगर समुदायले धुमधामका साथ भूमे पर्व मनाइरेहेका छन ।
भूमे नाचमा १२ ओटा चाल रहने गरेको छ । परम्परागत पहिरनमा सजिएर हातमा फुलको थुङ्गा लिइ, गोलो घेरा बनाइ आकर्षक तरिकाले भूमे नाच्ने गरिन्छ । भूमे नाच्दा हातले बुनेको अल्लोका कपडा लगाउने चलन रहेको छ । भूमे पर्वको समयमा प्रकृतीलाइ पूजा गर्नुका साथै मीठो मसिनो खाने, आफन्त भट्ने, समुहमा नाचगान गर्ने गरिन्छ । भूमे नाचमा कम्तिमा तिन पुस्ता एउटै मञ्चमा देखिने गरेका छन् ।