Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको एक हाईप्रोफाईल बलात्कार घटना : गुपचुपमा मिलाउने प्रयास

चितवनको एक हाईप्रोफाईल बलात्कार घटना : गुपचुपमा मिलाउने प्रयास

उजुरी नलिए आत्महत्या गर्छु भन्ने पीडितले उजुरीको अर्को दिनमा नै फिर्ता गर्छौँ भनेपछि...

images

इच्छाकामना न्युज

३०, जेठ २०७९
चितवनको एक हाईप्रोफाईल बलात्कार घटना : गुपचुपमा मिलाउने प्रयास
images

चितवन, ३० जेठ । चितवनको ‘एक हाइप्रोफाइल’ ले बलात्कार गरेको मुद्दामा प्रहरीलाई नै जानकारी नदिई जिल्ला सरकारी वकिलको कार्यालयले पीडितको बकपत्र गराएको पछि यहाँ ठूलै विवाद भएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरीमा उजुरी दिएको थाहा पाउने बित्तिकै आरोपी पक्षबाट पीडितलाई प्रभावमा पार्न निकै कोसिस भएको सार्वजनिक रूपमै प्रहरीले भनिरहेको उक्त घटनामा सरकारी वकिलको कार्यालयले तोकिएको मिति अगाडि नै बकपत्र गराएको हो।

नवलपुरको गैँडाकोटमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले आफ्नै कलेजमा पढिरहेकी १८ वर्ष मूनिकी एक विद्यार्थीलाई प्रयोगात्मक नम्बर थपिदिने प्रलोभनमा देखाएर पटक पटक बलात्कार गरेका उजुरीमा भनिएको छ। पीडित बालिका कलेजले नै सञ्चालन गरेको होस्टलमा बसेर अध्ययन गर्दै थिइन्। तर, आरोपी काफ्लेले ब्ल्याकमेल गरि पटक पटक शारीरिक सम्बन्धको लागि चितवनका विभिन्न होटलमा जान दबाब दिन थालेपछि आफूमाथि अन्याय भएको भन्दै पीडित र उनकी आमाले बैशाख १९ गते प्रहरीमा जाहेरी दिएका थिए।

कलेजमा काफ्लेले अन्य विद्यार्थीमाथि पनि दुर्व्यवहार गरेका प्रहरीमा मौखिक जानकारी आएको थियो। मौखिक जानकारी आएपछि प्रहरी संयुक्त रुपमा ल्याउन पीडितहरूलाई अनुरोध पनि गरेको थियो। सोही अनुसार पीडित छात्राहरूको संयुक्त जाहेरी कुरिरहेको प्रहरी अघिल्लो दिन जाहेरी दिएकी छात्राले भोलिपल्टैदेखि नै हाम्रो उजुरी फिर्ता गर्छौँ भनेपछि प्रहरीले उनीहरूमाथि अनावश्यक दबाब भएको अनुमान लगाएको थियो।

 

जिल्लामा आयोजित अधिकारकर्मीसहितको एक बैठकमा चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले भन्नुभएको थियो, ‘बलात्कारको मुद्दामा उजुरी लगत्तै पीडितलाई बयान फेर्न दबाब दिने गर्नाले हामीलाई अप्ठ्यारो हुन थालेको छ। तपाईँहरूले यस्ता घटनामा सहयोग गर्नुपर्छ।’ अघिल्लो दिन हाम्रो उजुरी नलिए आत्महत्या गर्छु भन्दै आएका पीडित उजुरीको अर्को दिनमा नै फिर्ता गर्छौँ भनेर आउँदा आफूहरूलाई थप शंका लागेको एसपी नवराज अधिकारीले बताउनुभएको थियो। अघिल्लो दिन छोरीमाथि भएको बलात्कारको उजुरीमा आएकी आमा संरक्षकको तर्फबाट कागज गर्न प्रहरी कार्यालय आइनन्।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदनसहित बुझाएपछि जिल्ला न्यायधिवक्ताले संरक्षकको कागज माग गरेर मिसिल फिर्ता पठाएको थियो। तर, पीडितको आमा संरक्षकको कागज गर्न प्रहरी नआएकोले प्रहरीले सोही बेहोराको पत्र सहित कागज जिल्ला सरकारी वकिलकोमा पठाइदियो।

सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा पेश गरेपछि २५ गते पीडितको बकपत्रको लागि बोलाउन आदेश गरिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जेठ २३ गते नै पीडितको बकपत्र गराउने व्यवस्था मिलाइदियो। यसअघि सबै मुद्दामा पीडितलाई बकपत्रको लागि प्रहरी मार्फत नै लैजाने अदालती प्रकृयाको अभ्यास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताउनुभएको थियो।

‘यस मुद्दामा हामीलाई बकपत्रको पत्र नै आइपुगेन, प्रवक्ता अधिकारीले भन्नुभयो, ‘बकपत्र भइसकेपछि मात्रै हामीले जानकारी पायौँ। जाहेरीदेखि सबै मुद्दामा पीडित र पीडक दुबै उपस्थित गराउने जिम्मेवारी हाम्रो हुन्थ्यो यो मुद्दामा किन हामीकहाँ आइपुगेन हामीलाई नै थाहा भएन।’

जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री भने पीडितले सरकारी वकिल कार्यालयमा निवेदन दिएर तोकिएको मिति अघि नै बकपत्र गराइदिन भनेकोले सोही अनुसार अघि नै गरिएको बताउनुहुन्छ। उहाँले बकपत्रको बेहोरा प्रहरीको जाहेरीमा गरिएको अनुसार भए नभएको बारे चाहिँ आफूले पूरा बकपत्र नहेरेकाले थाहा नभएको बताउनुभयो। तर, संरक्षकको कागज नै नभएकोले यो कमजोर मुद्दा रहेको न्यायाधिवक्ता खत्रीले जानकारी दिनुभयो।

बलात्कार आरोपी २९ वर्षका काफ्लेलाई प्रहरीले जाहेरी परेकै अर्थात् बैशाख १९ गते पक्राउ गरेको थियो। काफ्लेलाई जिल्ला अदालतले जेठ १६ गते पुर्पक्षका लागि थुनामा पठाएको छ। प्रतिमा सिलवाल/आइएनएसबाट साभार

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - १०:१३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology