भरतपुर, १७ जेठ । ०७६ कात्तिक ३० गते इच्छाकामना गाउँपालिका वडा नम्बर–३, फिस्लिङस्थित अस्थायी प्रहरी चौकीमा मृत्यु भएका नेपाली सेनाका जवान इच्छाकामना–५ का राम कँडेलको हत्या मुद्दाका आरोपित नेपाल प्रहरीका जवान ठाकुर ढकाल २ वर्ष ६ महिना जेल बसेर आइतबार छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा उनलाई सरकारले सजाय मिनाहा गरिदिएको हो । ०७७ जेठमा ढकाल पुर्पक्षका लागि थुनामा गएका थिए । ५ वर्ष कैद सजाय तोकिएकोमा आधा सजाय काटेर ढकाल छुटेका हुन् ।
कात्तिक ३० गते इच्छाकामना मन्दिरमा लागेको जात्रामा सहभागी हुने क्रममा प्रहरी र सेनाका जवानबीच भनाभन भएको स्थानीयको भनाइ छ । गाडीको भाडा तिर्ने क्रममा बाटोबाट चढेकी महिलाले भाडाको विषयमा गाडी चालकसँग वादविवाद गरेकी थिइन् । सोही क्रममा ढकाल र कँडेलबीच भनाभन हुँदा प्रहरीले पक्राउ गरी अस्थायी प्रहरी चौकी फिस्लिङमा लगेको थियो । चौकीको कार्यालय भवन दोस्रो तलामा रहेको र त्यहाँबाट हाम फाली मृत्यु भएको भनी ढकालले बयान दिएका थिए । तर, कँडेलका आफन्तले उनको हत्या भएको भनी दोषी प्रहरीलाई सजायको माग गरेका थिए ।