Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

अपायक स्थानमा निर्माण गरिएको ३६ लाखको स्वास्थ्य चौकी भवन वेवारिसे

अपायक स्थानमा निर्माण गरिएको ३६ लाखको स्वास्थ्य चौकी भवन वेवारिसे

images

एसपि गौरव

२९, बैशाख २०७९
अपायक स्थानमा निर्माण गरिएको ३६ लाखको स्वास्थ्य चौकी भवन वेवारिसे
images

सर्लाही, २९ वैशाख ।  सर्लाहीको हरिवन नगरपालिका ५ मा निर्माण भएको स्वास्थ्य चौकी प्रयोग बिहीन भएकोे छ । नेपाल सरकारको एक वडा एक स्वास्थ्य संस्था अवधारणा अनुसार निर्माण गरिएको हरिवन नगरपालिका ५ को स्वास्थ्य चौकी निर्माण भएको करिब २ वर्ष पुग्नै लाग्दा पनि प्रयोग बिहीन भएको छ । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको  रु ३६ लाख ४६ हजार ३ सय ८७ रुपैँया आर्थिक सहयोगमा बागमती कन्ट्रक्सन सर्लाहीले २०७७ जेठमा निर्माण सम्पन्न गरेको ३ कोठे स्वास्थ्य चौकी भवन अहिले प्रयोग बिहीन भएको छ । हरिवन नगरपालिका ५ स्थित चापिनि नदी किनारमा निर्माण गरिएको स्वास्थ्य चौकी वडाबासीलाई अपायक पर्ने भएका कारण प्रयोग बिहीन बनेको हरिवन नगरपालिका ५ का स्थानिय राजेश महतोले बताउनु भयो ।

चापिनि नदी किनार र जंगलको छेउमा लगेर बस्ती भन्दा बाहिर निर्माण गरिएको स्वास्थ्य चौकी कुनै पनि रुपमा वडाबासीको हितमा नभएर व्यक्तिगत स्वार्थ परिपुर्ती गर्न निर्माण गरिएको महतोको आरोप छ । 

स्वास्थ्य चौकी निर्माण गर्न अन्यन्त्र पनि जग्गा हुँदा हुँदै पनि हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाई र हरिवन नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष नागेन्द्र कुमार साहले आफुखुसी कसैलाई थाहै नदिई खोलाको छेउमा कुनै पनि बस्तीलाई पायक नपर्ने स्थानमा स्वास्थ्य चौकी निर्माण गरेका अर्का स्थानिय शंकर कुमार महतोले बताउनु भयो ।

२०७७ साल जेठमा तीनवटा कोठा सहित निर्माण गरिएको स्वास्थ्य चौकी भवन अहिले प्रयोग बिहीन अवस्थामा छ । स्वास्थ्य चौकी निर्माण गर्ने क्रममा वडाबासी समक्ष कुनै पनि सल्लाह नगरि आफुखुसी वडाबासीहरुलाई अपायक नपर्ने स्थानमा स्वास्थ्य चौकी निर्माण गरिनु, वडाबासी कसैलाई पनि जानकारी नहुनु र निर्माण भएको स्वास्थ्य चौकी भवन अहिले प्रयोग बिहीन भएको भन्दै स्थानियबासी आक्रोसित बनेका छन् । 

यता, आधारभुत स्वास्थ्य चौकी निर्माण गर्दा जग्गा खरिद गर्न नपाउने र जग्गा दान लिएर स्वास्थ्य चौकी निर्माण गर्नु पर्ने भएका कारणले सो स्थानमा स्वास्थ्य चौकी निर्माण गरिएको हरिवन नगरपालिका ५ का निवर्तमान वडा अध्यक्ष नागेन्द्र कुमार साहले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य चौकी भवन निर्माणको लागि जग्गा दान गर्न इच्छुक जग्गादाताहरु भएमा जानकारी गराउन पटक पटक सुचना निकालीएको र सो समयमा कुनै पनि जग्गादाताले अन्यन्त्र जग्गा उपलब्ध नगराउँदा सो स्थानमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको हो ।

यसका साथै सो भवन निर्माण भएर प्रयोगमा नआएको भएपनि वडा कार्यालयकै भवनबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको र सो भवनमा खोप केन्द्र सञ्चालन गरिएको हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । तर सो स्वास्थ्य चौकी निर्माण भएको करिब २ वर्ष पुग्नै लाग्दा पनि प्रयोगमा नआउँदा भवनचर्किन थालेको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - १७:५७:०३ बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology