आँबुखैरेनी, ७ बैशाख । स्वर्गीय जम्दार बाजे (मन बहादुर गुरुङ्ग) को १३ औं दिनको पुण्य तिथीमा आँबुखैरेनी गाउँपालिका वडा नं. ३, मिलनचोक स्थित घरमा अर्घुम गरिएको छ । स्वर्गीय जम्दार बाजेको आफन्तजन, नाता गोता कोही नभएको र बौद्ध संस्कार अनुसार लामा गुरुहरु रोक्दिम लामा, हुक्दिम लामा तथा पुरोहित पृथ बहादुर गुरुङ्गद्वारा अर्गुम गरिएको हो ।

जम्दारनि बज्यैको निधन पछी जम्दार बाजे पछिल्लो समय मानव सेवा आश्रम हेम्जा पोखरामा बस्दै आउनु भएको र गत २०७८ साल चैत्र २४ गते ९५ वर्षको उमेरमा निधन भएको थियो । निधन भएको भोलिपल्ट चैत २५ गते माई छिम्केश्वरी तमु सुधार समाजका प्रतिनिधिहरु देव बहादुर गुरुङ , देउकुमार गुरुङ, राम बहादुर गुरुङ र ताम बहादुर गुरुङको रोहवरमा पोखरा रामघाटमा दाह संस्कार गरिएको थियो ।
यस अघि जम्दार बाजे र जम्दारनी बज्यै आँबुखैरेनी मिलनचोक स्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा निर्मित घरमा बस्दै आउनुभएको र जम्दारनी बज्यैको निधन पछि जम्दार बाजे पोखरा स्थित मानव सेवा आश्रममा बस्दै आउनुभएको थियो । मानव सेवा आश्रम पोखरामा रहदा जम्दार बाजेको सरसफाई एंव हेरचाहमा हरदम खटिरहने राजु राना मगरलाई सम्मान गरिएको छ ।

माई छिम्केश्वरी तमु सुधार समाजका अध्यक्ष काजी कुमार गुरुङ्ग, माई छिम्केश्वरी तमु सुधार समाजका सल्लाहकार समिति संयोजक मे. खेम बहादुर गुरुङ, आँबुखैरेनी तमु समाजका क्याप्टेन नेपाल सिंह गुरुङ्ग, तावा गुरुहरु यम गुरुङ्ग, हेम गुरुङ्ग, थम बहादुर थापा, एकता टोल विकास संस्था भदौरे टोलका पुर्व अध्यक्ष लक्ष्मण बगाले, सचिव लसु थापा, व्यवस्थापक देव बहादुर गुरुङ्ग लगाएतकाको सहयोगमा जम्दार बाजेको अर्घौ सम्पन्न भएको छ ।
मिलनचोक स्थित जम्दार बाजे र बज्यै बस्नु भएको घरमा भएको सामग्रीहरु र उहाँको नाममा संकलित नगद टोल बिकास समिति , तमु समाज र व्यवस्थापन समितिको रोहवरमा छिट्टै सार्वजनिक गरिने तमु समाजले जानकारी दिएको छ ।