Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

माडीको कुसुमखोला चेपाङ बस्तीमा आगलागी घटना : निकुञ्जले द्वन्द्व निम्त्याउने काम गर्‍यो

माडीको कुसुमखोला चेपाङ बस्तीमा आगलागी घटना : निकुञ्जले द्वन्द्व निम्त्याउने काम गर्‍यो

images

इच्छाकामना न्युज

२०, चैत्र २०७८
माडीको कुसुमखोला चेपाङ बस्तीमा आगलागी घटना : निकुञ्जले द्वन्द्व निम्त्याउने काम गर्‍यो
images

माडी (चितवन), २० चैत । अति सीमान्तकृत समुदायको बसोबास रहेको माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बस्तीमा आगो लगाएपछि आम सर्वसाधारणदेखि मानवअधिकारकर्मीका साथै राजनैतिक दलहरुले समेत उक्त घटनाको चर्को विरोध गरेका छन्। बसिरहेकै घरमा जानाजान निकुञ्ज प्रशासनले आगो लगाएको भन्दै अन्यायमा परेका चेपाङ समुदायलाई तत्काल व्यवस्थापन गराइदिन पनि माग गरिएको छ। received_989059828414843.jpeg नेपाल चेपाङ संघ, नेपाल आदिवासी जनजाति महासंघलगायतका साझा संस्थाहरुले यस घटनाको तत्काल छानविन गरी दोषीमाथि कडा कारवाही गर्न मागसमेत गरिसकिएको छ। माडी नगरपालिकाले समेत आफ्ना जनताको बसोबास निकुञ्ज प्रशासनको उक्त कार्य अत्यन्तै दुःखद भएको बताउँदै आएको छ। कुसुमखोलाका स्थानीयलाई अन्त कतै व्यवस्थापन गराउने प्रयास जारी रहँदै गर्दा निकुञ्ज प्रशासनबाट उनीहरुको उठिबास नै हुने गरी गाउँभरीको घर टहरोमा आगो लगाएर अमानवीय काम गरेको नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले बताए। सर्वोच्च अदालतले समेत ‘जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा छाडिदिनू’ भनेर आदेश दिइसकेको अवस्थामा पनि निकुञ्जले मानवअधिकारको हनन हुने गरी बसिरहेकै घरमा आगो लगाउँदै हिँडेको उनले बताए। नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष एवम् संविधान सभा सदस्य गोविन्दराम चेपाङले पनि निकुञ्जबाट जहिले पनि आदिवासी जनजाति समुदाय पीडामा परिरहेको बताए। घाँस दाउरा गर्न जाँदा होस् या माछा मार्न जाँदा होस् निकुञ्जले विभिन्न बहाना बनाएर हत्यासम्म गर्दै आएको घटनाको स्मरण गराउँदै कुसुमखोलाको घटनाले निकुञ्जसँग आदिवासी जनजाति समुदायबीच द्वन्द्व निम्त्याउने प्रयास गरिएको बताए। यस्तै अवस्था भइरहे जल, जङ्गल र जमिनको रक्षार्थ खटिएका कुनै पनि आदिवासी जनजाति समुदाय निकुञ्ज प्रशासनविरुद्ध आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए। तत्कालीन राजा महेन्द्रले मकवानपुरको साविक काँकडा गाविसका बाढी, पहिरो प्रभावित चेपाङ समुदायलाई कुसुमखोला ल्याएर व्यवस्थापन गरेको उनको भनाइ छ। तर, अहिलेको सरकारले त्यतिबेला राजाले ल्याएर राखेकै ठाउँबाट लखेट्ने प्रयास गरिरहेको आरोप लगाए। received_529560188581951.jpeg नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनका सचिव महेन्द्र दुराले आदिवासी जनजाति समुदायलाई निकुञ्जले हेपाह प्रवृत्ति देखाएको आरोप लगाए। पुस्तौँपुस्ता वन जङ्गल तथा नदीनाला आसपासका क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायमाथि राज्यकै कुनै न कुनै निकायले विभिन्न बहानामा कुदृष्टि लगाउने काम भइरहेकोले यसको विरोधमा समग्र नेपालका सबै आदिवासी जनजाति एकीकृत भएर आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ। received_499146668305794.jpeg नेफिन चितवनकै समन्वयमा केही दिनअघि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको टोली पनि कुसुमखोला पुगेको थियो। घटनाबारे समाचार संकलन तथा प्रकाशन प्रसारणको लागि फोनिज चितवनका अध्यक्ष रमेश रानामगर, उपाध्यक्ष तुलमान गुरूङ, बागमती प्रदेश प्रतिनिधिहरु आशिका थापामगर, आशिक रानामगर र ममता गुरूङसहितको टोली कुसुमखोला पुगेर फर्किएको थियो। आदिवासी जनजाति समुदायमाथि परेको समस्या र पीडाबारे सञ्चारमाध्यममार्फत बाहिर ल्याउन फोनिजको टोली घटनास्थल पुगेको फोनिज चितवनका अध्यक्ष मगरले जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यही चैत ६ गते दिउँसो करिब साढे ३ बजेको समयमा कुसुमखोलाका करिब दर्जन घर तथा छाप्राहरुमा आगो लगाइदिएको थियो। यसअघि पनि २०७७ सालको साउन ३ गते घरमा आगलागी गराइदिएको थियो। अन्य समयमा पनि खेतीबालीमा हात्ती चराइदिने, थन्क्याउने बेला भएको अन्नबाली फाँडेर नष्ट गरिदिने, घरमा आएर धम्क्याउनेजस्ता काम हुँदै आएको स्थानीय बताउँछन्।

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - २१:५९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology